दार्मा गाउँपालिका–५ ढाकाडामस्थित सामुदायिक स्वास्थ्य इकाइ केन्द्र चार महिनादेखि बारीको डिलमा टेन्ट लगाएर सञ्चालन हुँदै आएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पका कारण भवन क्षति भएपछि केन्द्र टेन्टको भरमा चलाउनु परेको हो । टेन्ट समेत भिरालो स्थानमा राखिएकाले उपचार गर्न गएका बिरामीलाई समेत समस्या हुँदै आएको छ ।
टेन्टभित्र गर्मीका कारण स्वास्थ्यकर्मीलाई औषधि जोगाउन कठिनाइ भएको छ । एउटा मात्र टेन्टमा बिरामीको स्वास्थ्य परीक्षण गरिने बेड, टेबुल लगायतका सामग्री र औषधि राख्नु पर्दा सेवा दिन धेरै कठिनाइ भएको सामुदायिक इकाई केन्द्र प्रमुख यज्ञबहादुर खडकाले बताउनुभयो । टेन्टभित्र तीन/चार जना भन्दा बढी बस्न नमिल्ने भएकाले उपचार गर्न आएका सबैलाई खुला स्थानमा राख्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
‘इकाई केन्द्र सञ्चालन गरेको स्थान खोंचमा गर्मी बढ्न थालेको छ, दिउँसो टेन्ट बाफिएर भित्र बस्न सकिदैन,’ उहाँले भन्नुभयो ‘बिरामी स्वास्थ्य परीक्षणका लागि एक/डेढ घन्टा बस्दा तातो बाफले गर्दा टाउको दुख्ने, चक्कर लाग्ने समस्याले आफै बिरामी हुने अवस्था सृजना भएको छ ।’ ओसिलो स्थानमा राख्नुपर्नेमा औषधि टेन्टभित्र बचाउन गाह्रो भएको उहाँले बताउनुभयो ।
मौसम परिवर्तनका कारण हिजो आज यहाँ दैनिक २०/२२ जना बिरामी आउने गरेका छन् । उपयुक्त जग्गा नहुँदा काम चलाउका लागि गाडेको टेन्ट भिरालो स्थानमा भएको र बिरामी आउजाउ गर्ने बाटो साँघुरो भएकाले हिड्दा लड्ने जोखिम समेत रहेको उहाँको भनाइ छ । परीक्षण गर्न आउने गर्भवतीलाई सेवा दिन झनै कठिनाइ भएको इकाई केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी हीरा ओलीले बताउनुभयो । ‘गर्भ परीक्षण सुताएर गर्नुपर्ने हुन्छ, त्यसका लागि छुट्टै कोठा चाहिन्छ, एउटै टेन्टमा पर्दा लगाई काम चलाउनु परेको छ,’ उहाँले भन्नुभयो ‘कतिपय महिला त लाजले राम्रोसँग जाँच गर्न पनि मान्दैनन् ।’
चैत्रदेखि असार सम्म हुने गर्मी र त्यसपछि वर्षातको समयमा इकाई केन्द्र टेन्टकै भरमा सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ । भूकम्पले दार्मा गाउँपालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थाका भवन क्षति भएकोमा अन्य मर्मत गरी सेवा सुचारु गरिएको छ । वडा नम्बर ५ मा रहेको सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन धेरै क्षति भएकाले बिरामी सेवाबाट बञ्चित नहुन नदिन टेन्ट राखेर सेवा दिँदै आए पनि स्वास्थ्यकर्मीलाई कठिनाइ भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताउनुभयो । उहाँले तत्कालका लागि अस्थायी रुपमा चलाइएको र भवन निर्माणका लागि माग गरिएको बताउनुभयो ।
यस केन्द्रबाट ढाकाडामका झन्डै तीन सय परिवार लाभान्वित हुँदै आएका छन् । स्थानीय कल्पना केसीले स्वास्थ्य इकाई केन्द्र टेण्टमा हुँदा उपचारका लागि जान समेत सास्ती हुने गरेको बताउनुभयो । ‘साँघुरो क्षेत्र छ, हेर्दा स्वास्थ्य इकाई केन्द्र आफै बिरामी देखिन्छ, खुला क्षेत्र भएन, यसले सेवा लिन समेत समस्या भएको छ, नागरिकले छिटोछरितो र सहज रुपमा सेवा पाउने व्यवस्था सरकारले मिलाउनु पर्छ’ उहाँले भन्नुभयो ।

