सरकारले भूकम्प पीडित आवास निर्माणका लागि अनुदान दिन सुरु गरे पनि रसुवाको हाकु गाविसमा रहेका ४ सय ५० परिवारले अनुदान सम्झौता गर्न पाएका छैनन् ।
हाकु गाविस वडा नं २ देखि ७ सम्मका ६ ओटै वडाका ४ सय ५० घरपरिवारले चर्चेको जमीन र घर समेत पुरानो स्वयम्भुनाथ गुठीको नाममा रहेका कारण उनीहरू अनुदान सम्झौताबाट वञ्चित भएका हुन् ।
त्यस्ता परिवारसँग सम्झौता गर्ने नीति नभएको भनेर गाविस सचिवले भनेपछि उनीहरू भूकम्प पीडित आवास निर्माणका लागि सम्झौता गर्नबाट वञ्चित हुनुपरेको स्थानीयले बताएका छन् ।
पुस्तौँदेखि बस्दै आएका पीडितहरूसँग आफ्नो नाममा जग्गाधनी प्रमाण पुर्जा नभएकोले अनुदान सम्झौता गर्न कठिनाइ भएको छ ।
भूमिअधिकार मञ्च रसुवका अनुसार हाकु गाविसमा ४ सय ५० परिवारको जग्गा गुठीको भएका कारण अनुदान सम्झौतामा समस्या भएको हो ।
हाकु गाविसमा ८ सय ३३ घरधुरी रहेका छन् । हालसम्म ३६ घरपरिवारसँग मात्र भूकम्प पीडित आवास अनुदान सम्झौता भएको हाकु गाविसका सहायक बुचुङ तामाङले बताए । सरकारले निर्णय गरेपछि मात्र गुठीको बारेमा काम अघि बढ्ने तामाङले बताए ।