‘ख’ श्रेणीको जिल्ला कारागारमा चिकित्सक नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा कठिनाई भएको छ । कारागारको क्षमता ३ सय ५२ जनाको रहे तापनि हाल ५ सय १८ जना कैदीबन्दी राख्न कारागार कार्यालय बाध्य भएको छ ।
क्षमताभन्दा बढी कैदीबन्दीलाई राख्दा उनीहरूलाई शौचालय, शुद्ध पिउने पानी र बस्नको लागि समस्या भएको छ । कारागारबाट ०८० मङ्सिर २० गते सिनियर अहेव बढुवा भएर गए पश्चात कैदीबन्दीहरू बिरामी हुँदा धेरै समस्या हुँदै आएको छ ।
स्वास्थ्यकर्मी हुँदा बिरामीहरूको स्वास्थ्य जाँच भित्रै हुन्थ्यो, बढी समस्या देखिएका बिरामीहरूलाई जिल्ला अस्पतालमा लगिन्थ्यो तर अहिले सामान्य बिरामी देखिए पनि अस्पताल पुर्याउनु परेको कारागार कार्यालयका प्रमुख रेमलाल न्यौपानेले इन्सेकलाई जानकारी दिनुभयो ।
५ सय १८ जना कैदीबन्दीहरूलाई कारागारको दुई ओटा ब्लकमा राखिएको छ । ब्लक १ मा २ सय ८६ जना छन् जसमा १ सय ४५ कैद तोकिएका र १ सय ४१ जना थुनुवा छन् । यसैगरी ब्लक २ मा २ सय ३२ जना छन् जसमा १ सय २२ कैद तोकिएका छन् भने १ सय १० जना थुनुवा रहेको कारागार कार्यालयका प्रमुख न्यौपानेले बताउनु भयो । जटिल रोग मध्ये एक जना मृगिका बिरामी र एक जना एचआईभी सङ्क्रमितको बिरामी छन् भने नशा सम्बन्धि र मानसिक रोगका नियमित औषधी सेवन गर्ने २६ जना बिरामी छन् । आकस्मित बिरामी हुने दैनिक पाँचदेखि सात जनालाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचारको लागि दैनिक लैजाने गरेको प्रमुख न्यौपानेले उल्लेख गर्नुभयो ।
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा एक जना मात्र स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्नेदेखि औषधि दिने र परामर्श समेत एक्लैले गर्नु पर्दा कार्यालयमा स्वास्थ्यकर्मी लामो समयसम्म बस्न नसकेको हुन सक्ने कारागार प्रशासनले जनाएको छ ।
कारागारमा ६५ वर्ष नाघेका कैद तोकिएका १७ जना ज्येष्ठ नागरिक रहेका छन् । समयमा मुद्दाको छिनोफानो नभएर दुई वर्षभन्दा बढी समयसम्म कारागारमा बस्न बाध्य भएका नौ जना छन् ।
दिर्घरोगका कैदी तथा बन्दीहरूलाई उपचार, गम्भीर खालका रोग लागेका कैदीबन्दीलाई प्र्रशासनको सिफारिसमा पाल्पा तथा कारागार कार्यालय जगन्नाथ देवल तथा कारागार कार्यालय नख्खुमा स्थानान्तरण गरी उपचारका लागि पठाउने गरिएको छ ।
कैदी बन्दीहरूलाई आफन्तहरूसँग हप्ताको दुई दिन भेटघाटको व्यवस्था छ । जिल्ला बाहिरकालाई अन्य बारहरूमा पनि भेट गर्ने वातावरण मिलाइएको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
कैदी र थुनुवाको समस्याहरूलाई सङ्कलन गर्ने चौकिदार, नाइके र सब नाइकेलाई कारागार ऐन २०७९, कारागार नियमावली २०२० तथा कारागार व्यवस्थापन कार्य विधि २०७३ अनुसार थप अतिरिक्त सुविधाहरू दिइएको प्रमुख न्यौपानेले बताउनु भयो ।