सोरू गाउँपालिकाकाे ९ नम्बर वडा कार्यालयमा डेढ महिना वडा सचिव नहुँदा स्थानीय सेवाग्राहीलाई समस्यमा भएकाे छ ।
वडा कार्यालयमा माघ १० गते देखि वडा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती हुनुको साथै वडाबाट दिने दैनिक सेवा समेत प्रभावित भएका छन् । वडा कार्यालयले दिने सेवामा जन्मदर्ता , मृत्यु दर्ता , बसाइँ सराइ, नागरिकता बनाउने र हराएको नागरिकताको प्रतिलिपि लिनको लागि सिफारिस लगायत साथै अन्य सेवा लिनबाट डेढ महिनादेखि बञ्चित भएका छन् ।
नागरिकता हराएपछि प्रतिलिपिका सिफारिस लिन आएको एक महिना भयो तर वडा सचिव नहुँदा काम नभएको स्थानीय सेवाग्राही भक्ति प्रसाद चौलागाइले गुनासो गर्नुभयो । त्यसैगरी , स्थानीय सेवाग्राही प्रकाश देवकोटाले बसाइँ सराइ सिफारिसको लागि वडा कार्यालय गएको २० दिन सम्म पनि काम नबनेको उहाँले गुनासो गर्नुभयो ।
सोरू गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज शाहीसँग सो बिषयमा बुझ्दा कार्यालय वडा सचिव वेदना महतले आफू बिदामा रहेको कुनै मौखिक,लिखित जानकारी नगराएको जानकारी दिनुभयो । नियम विपरीत चल्ने वडा सचिव महतको तलब रोकिने समेत बताउनुभयाे ।
त्यस्तै, वडा नम्बर ८ का वडा सचिव धनबहादुर रावतले पनि कुनै जानकारी विना विदा बसेको उहाँले बताउनु भयो । रावतले वडा नम्बर ७ र ८ को जिम्मेवारी पाएका छन् । उहाँ गतबर्ष दशै पछि पनि विदा बस्दा त्यसबेला सामाजिक सुरक्षा भत्ता वितरणमा समेत समस्या देखिएको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताएका छन् ।
सोरू गाउँपालिकामा हालसम्म ११ वडाहरूमा करार सहित १० जना वडा सचिव रहेका छन् । एउटै सचिवले दुई ओटा भन्दा बढी वडा कार्यालयको जिम्मेवारी छ । दरबन्दी अनुसार पर्याप्त सचिव नहुँदा पालिकाकै शाखाका कर्मचारीले वडा सचिवका रूपमा काम गर्दै आएका छन् । पशु शाखा तथा अन्य शाखाका कर्मचारीहरूले वडा सचिवको कामकाज गर्दा झन समस्या आउने गरेको वडा नम्बर ९ का वडा अध्यक्ष सागर सम्शेर शाहीले बताउनु भयो ।