INSEC Online

📅 २०८३ जेष्ठ २१

घटेन शिशु मृत्युदर

बागचौर नगरपालिका–३ की २७ वर्षीया नीतादेवी केसीलाई गत पुस १८ गते बेस्सरी पेट दुख्यो । गर्भवती रहेकी उहाँलाई सुत्केरी व्यथाले च्याप्यो होला भनेर पति युवराज डिसीले प्राथमिक स्वास्थ्य केन्द्र थारमारे पुर्याउनुभयो । त्यहाँ सहज रुपमा सुत्केरी हुन नसकेपछि जिल्ला अस्पताल रिफर गरियो । जिल्ला अस्पतालमा उहाँले बच्चा त जन्माउनुभयो तर जीवित थिएन । बच्चाको गर्भमै मृत्यु भइसकेको थियो ।

छत्रेश्वरी गाउँपालिका–५ की ३० वर्षीय गौरी भण्डारीलाई सुत्केरी व्यथाले च्यापेपछि श्रीमान नारायण केसीले मङ्सिर १२ गते जिल्ला अस्पताल पुर्याउनुभयो । जटिल समस्या देखिएकी उहाँलाई अस्पतालका तालिम प्राप्त र दक्ष स्वास्थ्यकर्मीले डाक्टरको सहयोगमा सुत्केरी त गराए । तर जन्मिएको बच्चा बचाउन सकेनन् । जन्मिनुभन्दा पहिले नै बच्चाको मृत्यु भइसकेको थियो ।
यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । जिल्लामा आमा, नवजात शिशु, गर्भमा रहेको बच्चाको सुरक्षाको लागि सरकारले स्वास्थ्य सेवा कार्यालयमार्फत दुई दशक अघिदेखि सुरक्षित मातृत्व कार्यक्रम लागु गरेर बजेट विनियोजन गरेर कार्यक्रम चलाउँदै आएको छ । त्यत्तिमात्र होइन्, जिल्ला अस्पतालमा सहज रुपमा सुत्केरी हुन नसकेका महिला र गर्भमा रहेका बच्चाको मृत्यु हुनबाट बचाउन शल्यक्रिया सेवा सञ्चालन गरिएको छ ।

यसरी विभिन्न कार्यक्रम गर्दा पनि जिल्लामा मातृ मृत्यु रोकिएपनि गर्भ र नवजात शिशु मृत्यु भने रोकिएको छैन् । नवजात शिशु र गर्भ मृत्यु झनै बढ्दै गएको छ । सरकारी तवारबाट सञ्चालन भएका सचेतनामुलक कार्यक्रम प्रभावकारी नभएको र गर्भवती तथा सुत्केरी महिला र घर परिवारले समेत लापरबाही गर्दा गर्भ र नवजात शिशु मृत्यु हुने क्रम रोकिएको छैन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७६/०७७ मा २७, ०७७/०७८ मा ५९ र ०७८/०८९ मा ३४, ०७९/०८० मा ३० र ०८०/०८१ को हालसम्म २० जनाको मृत्यु भैसकेको छ । यस्तै आर्थिक वर्ष ०७६/०७७ मा २७, ०७७/०७८ मा ५९, ०७८/०७९ मा ३४ र ०७९/०८० मा २१ जना नवजात शिशुको मृत्यु भएको छ ।
गर्भवती महिलालाई स्वास्थ्यसंस्था लगेर नियमित परीक्षण गराउनुपर्छ, सामान्य समस्या देखिएमा गर्भमा रहेका बच्चालाई समस्या हुन्छ भन्ने बारेमा जानकारी नहुनुका साथै लापरबाही गर्दा गर्भ मृत्यु र नवजात शिशु मृत्यु नघटेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अर्जुन बुढामगरले बताउनुभयो । सानै उमेरमा विवाह गर्दा यो समस्या बढि देखिएको र यसले गर्दा आमाको ज्यान जोखिममा परेको उहाँको भनाइ छ ।

विगतमा जिल्लाभरिका सबै स्वास्थ्य संस्थामा प्रसुति सेवा थिएन । सुत्केरी गराउन अस्पताल समयमै पुर्याउन नसक्दा अधिकांश महिला घरमै असुरक्षित सुत्केरी हुन्थे । जसका कारण रक्तश्राव हुन्थ्यो । तत्काल अस्पताल पुर्याउन नसक्दा रगत अभावमा सुत्केरी र गर्भवतीको मृत्यु हुन्थ्यो । अहिले ग्रामीण क्षेत्रका महिलालाई सहज सुत्केरी गराउनका लागि १० पालिकाका ४३ स्वास्थ्य संस्था र दुई प्राथमिक स्वास्थ्य केन्द्रमा बर्थिङ्ग सेन्टर समेत सञ्चालन गरिएको छ । गर्भवती महिला र बच्चाको ज्यान जोखिममा नपरोस् भनेर गर्भवती महिलालाई अनिवार्य गर्भ परीक्षणको व्यवस्था समेत मिलाएको छ ।

Photo20240306Salyan

अन्य

भिडियो