INSEC Online

📅 २०८३ जेष्ठ २२

परमादेश पालना नभएपछि पीडितद्वारा प्रहरी प्रमुख विरुद्ध उजुरी

अदालतको परमादेश अनुसार प्रहरीले उजुरी दर्ता नगरेको भन्दै राजगढ गाउँपालिका–४ बेल्ही चपेनाकी २५ वर्षीया अनुकुमारी साहले जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गजु सिद्धी ब्रजाचार्यविरुद्ध ०८० फागुन ४ गते अदालतको अपहेलनाको उजुरी दिनु भएको छ ।

पीडितका पति ४२ वर्षीय खरानन्द साहसहित परिवारका सदस्यविरुद्ध परेको उजुरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न उच्च अदालत जनकपुर राजविराज इजलासले ०८० असोज १९ गते परमादेश जारी गरेको छ । सो परमादेश बमोजिम पुस १८ गते उच्च सरकारी वकिल कार्यालयलाई आदेशको जानकारी गराए पश्चात पुस २४ गते सनाखत गराउन निवेदनसाथ पीडित जिल्ला प्रहरी कार्यालय जानु भएको थियो । पीडितका अनुसार जिल्ला प्रहरी कार्यालयले माघ ५ गते आउनु भनेकोमा सोही मितिमा जाँदा डिएसपी ढुण्डिराज नेउपानेले पति पत्नीको झैझगडा सामान्य हुने भएकोले केही गर्नु नपर्ने बरु मुद्दा नचल्ने गरी उजुरीलाई तामेलीमा राखिदिने भने । गुनासो लिएर जाँदा एसपी बज्राचार्यले भेट नदिएको र अदालतको परमादेश अनुसार उजुरी दर्ता पनि नगरेको भन्दै पीडितले अदालतको अपहेलनामा कारवाहीको माँग गर्दै उजुरी दिनुभएको हो ।

आरोपितले नाबालकैमा पीडितलाई विद्यालय जाँदा अपहरण गरी भगाई भारतको मुम्बई लगेर यौन शोषण गरेको र औषधि सेवन गराई गर्भपतन गराएको पीडितले बताउनु भयो । नाबालकैमा बुबा, दाजुलाई मार्ने तथा अश्लिल तस्विर बनाई फेसबुकमा हाल्ने धम्की दिई यौन शोषण गर्ने गरेकोमा पछि उनैसँग विवाह गर्न बाध्य भई कान्छी पत्नीको रुपमा रहेको पीडितले बताउनु भयो । खरानन्दकी जेठी पत्नी ४० वर्षीया राजदेबी साहतर्फ १ छोरा र ३ छोरी छन् भने पीडिततर्फ २ वर्षीया छोरी छिन् ।

पीडितको छोरी भएदेखि पतिसहित ७० वर्षीया सासु जंगलीदेबी साह, ४० वर्षीया सौता राजदेबी साह, ३२ वर्षीय देवर कमलनारायण साह र ३० वर्षीया देवरानी सुनितादेबी साहले दैनिक कुटपिट गर्न थालेपछि पीडितले जिल्ला अदालतमा ०७८ फागुन २ गते मानाचामल, सम्बन्ध विच्छेद र अंशदर्ता तथा फागुन ३ गते घरेलु हिंसाको उजुरी दिनुभएको थियो । घरेलु हिंसामा अदालतले ०७८ फागुन ४ गते अन्तरकालिन आदेश जारी गरेको छ ।

पीडितले बताए अनुसार सोही मुद्दाको रिसइबी लिई ०७९ मङ्सिर ९ गते राजविराज नगरपालिका–६ हुलाकी सडकस्थित घर नजिकै आरोपितले सिटी रिक्शाबाट ओराली घरभित्र बन्धक बनाई छोरा नविनलाई बोलाई लाठी, मुक्काले कुटपिट गरी घाँटी थिचेर

मार्न खोजेका थिए । पीडित रोइकराई चिच्याएको सुनेर गस्तीमा रहेको प्रहरीले पीडितको उद्धार गरेको थियो । पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ०७९ मङ्ंसिर ९ गते उपचार भयो ।

सो घटनाका बारेमा मङ्ंसिर ११ गते पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले लिन इन्कार गरेको पीडितले बताउनु भयो । सिडिओले समेत उक्त काम प्रहरीको हो भन्दै निर्देशन दिन नमानेको तथा ०७९ मङ्सिर १६ गते हुलाकमार्फत रजिष्ट्री गरी पठाएको उजुरी समेत प्रहरीले दर्ता नगरेको पीडितले गुनासो गर्नुभयो ।

अन्ततः उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशको उजुरी दिनुपरेको भन्दै पीडितले अदालतबाट ०८० असोज १९ गते परमादेश जारी भएपनि जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरेर अदालतको अपहेलना गरेको बताउनु भयो । मामाघर विस्थापित भएकी पीडितले हाल मजदुरी गरेर नाबालिका छोरीको भरणपोषण गरिरहनु भएको छ ।

अन्य

भिडियो