INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन दिनदेखि अस्पतालमै छन् न्यायको आशा लिएर आएका मिटरब्याज पीडित

सरकारले मिटरब्याजको समस्या समाधान नगरेको भन्दै ०८० माघ १६ गतेदेखि झापाको काकडभिट्टाबाट पैदल हिँडेर न्यायको लागि अभियान थालेका मिटरब्याज पीडित मनहरीस्थित स्थानीयबीच ०८० फागुन १ गते झडप हुँदा २० जना मिटरब्याज पीडित घाइते भए । न्यायको आशा लिएर आएका मिटरब्याज पीडित उक्त झडपमा घाइते हुँदा तीन दिनदेखि चितवन मेडिकल कलेजको ट्रमा सेन्टरमा उपचाररत छन् ।

सर्लाहीको हरिपुर नगरपालिकाका ७० वर्षीय सागर मन्सुरका अनुसार घाइतेहरूको टाउको, खुट्टा, कम्मर, गाला लगाएत शरीरका विभिन्न भागमा चोट लागेको छ । आफ्ना समस्या सरकारलाई सुनाउनको लागि ‘न्याय मार्च’ को अभियानका साथ हिँडिरहेको अवस्थामा मनहरीका स्थानीयले टाउकोमा ढुङ्गा र बोतल प्रहार गरी घाइते बनाएको उहाँको भनाई छ ।

मिटरब्याज पीडितहरूले काँकडभिट्टास्थित मेची पुलबाट मसाल जलाएर न्याय मार्च अभियानको सुरुवात गरेका थिए । मेची पुलबाट हिँडेको १४ औँ दिनमा मिटरब्याज पीडितको ‘न्याय मार्च’ हेटौँडा आइपुगेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका केन्द्रीय सदस्य विशाल क्षेत्रीले जानकारी दिनुभयो ।

मिटरब्याजी र सरकारबीच भएको सहमति कार्यन्वयन नभएको र मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेर जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपुर्तिको व्यवस्था गर्नु पर्ने माग राखि पीडितहरू ‘न्याय मार्च’ को अभियान सुरु गरेका हुन् । मिटरब्याज पीडितहरूले मिटरब्याज अपराधसम्बन्धी शक्तिशाली कानुन निर्माण गरी पूर्णाधिकारसहितको अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्ने माग समेत राखेका छन् ।

न्याय माग्न पटक पटक आउँदा समेत उनीहरूको न्याय पाउने आशा भने मरेको छैन् । तर आशासँगै उनीहरूको मनमा डर तथा शङ्का भने पहिले जस्तै छ । एकातिर सरकारले छुट्कारा दिलाउला भन्ने आशा बोकेर आएका छन् भने अर्कातिर यस अघि धेरै पटकसम्म न्याय नपाएको उनीहरूलाई केही शङ्का छ ।

अन्य

भिडियो