१९ वर्षीया बलात्कार पीडित महिलालाई कानुनी प्रक्रियामा जानकालागि इन्सेक लुम्बिनी प्रदेश कार्यालयले फागुन १ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रकृयामा जान समस्या परेकी महिलाले बलात्कारका कारण रहेको गर्भबाट शिशुलाई जन्म दिनु भएको छ ।
पीडितलाई कानुनी प्रकृयामा जानका लागि आवतजावत गर्न र कानुनी शुल्कमा समस्यामा परेको भन्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले आवस्यक सहयोगका लागि इन्सेकमा माघ २९ गते निवेदन दिएको थियो ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले प्रहरीको रोहवरमा सो रकम अस्पतालमै पुगेर फागुन १ गते पीडितलाई हस्तान्तरण गर्नुभएको थियो ।
पीडितलाई देवदह नपा –१ विर्ताका २३ वर्षीय इश्ताक अलिफकिरले विवाह गर्ने प्रलोभन देखाएर ०८० वैशाख २ गते बलात्कार गरी फरार रहेको र बलात्कारबाट आफू गर्भवती भएको भन्दै ०८० असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
प्रहरीले आरोपितलाई ०८० कात्तिक ४ गते गाउँमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको थियो ।