२२ वर्षीया पत्नी टीका बिक र दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका–९ स्थायी घर भइ जिल्ला प्रहरी कार्यालय, दाङमा कार्यरत प्रहरी जवान ३२ वर्षीय पिमलाल नेपालीलाई माघ २१ गते गिरफ्तार गरेको छ ।
परीवार सहित आरोपित माघ २० गते साँझ घोराही उपमनपा–१५ स्थित होटेल ग्रिनपिसमा बसेका थिए । घरायसी विवाद हुँदा माघ २१ गते बिहान सलले घाँटी कसेर दुवैजनाको हत्या गरी आफै प्रहरीमा उपस्थित भएपछि प्रहरीले हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
घरबाट पत्नी र छोरा आएको भन्दै माघ २० गते साँझ आरोपितले विदा मागेको डिएसपी मल्लले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा राखिएको र मृतकका माइती पक्ष रुकुम चौरजहारीबाट आउन थालेकाले आउँने वित्तिकै पोष्टमार्टम हुने डिएसपी मल्लले बताउनु भयो ।
नेपाली यस अघि प्रहरी तालिम केन्द्र नेपालगञ्जमा परिवारसहित बस्दै आएको र दुई महिना अघि सरूवा भई जिल्ला प्रहरी कार्यालय, दाङमा आएपछि कहाँ बस्ने भन्ने विवाद रहेको त्यही विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी मल्लले बताउनु भयो ।