सरकारले एक दशक अघि नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि लुम्बिनी प्रदेशमा भने अझैं पनि कुष्ठरोगीको संख्यामा बढेको तथ्यांकले देखाएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा आ.व.०७९/०८० मा ५ सय ८४ जना कुष्ठरोगीहहरू छन् ।
उक्त तथ्यांक अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नवलपरासी पश्चिम, कपिलवस्तु, बाँके र रूपन्देही जिल्लामा कुष्ठरोग प्रभावितहरूको संख्या उच्च रहेको छ भने नयाँ रोगी पत्ता लाग्ने दरसमेत उच्च रहेको छ ।
प्रदेशको स्वाथ्य निर्देशनालयका अनुसार उक्त जिल्लाहरूमा प्रति १० हजार जनामा एक जना भन्दा कम हुनुपर्ने ‘प्रीभिलेन्स ’ दुई भन्दा माथि रहेको छ । जसको कारण देशभरको तथ्यांक भन्दा लुम्बिनी प्रदेशको प्रीभिलेन्स दर बढि भएको पाइएको हो ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा ल्याब टेक्निसियन निरीक्षक खिमलाल पाण्डेले गत आर्थिक र्षमा देशभरबाट २ हजार ५ सय २२ जना कुष्ठरोग प्रभावित व्यक्तिहरूमाथि लुम्बिनी प्रदेशमा मात्रै ५ सय ६२ जना रहेको बताउनु भयो ।
पाण्डेका अनुसार चार महिनामा लुम्बिनी प्रदेशमा १ सय २७ भन्दा बढी नयाँ बिरामी पत्ता लागेको बताउदै अझै अन्य जिल्लाहरूमा पनि मिहिन तहले परीक्षण गरे यो संख्या बढ्ने बताउनु भयो ।
प्रदेशको स्वाथ्य निर्देशनालयका अनुसार विगत ६ वर्षमा लुम्बिनी प्रदेशमा कुष्ठ रोग प्रभाावितहरूको संख्या कोभिड संक्रमणको बेला कम देखिए पनि अन्य वर्षमा भने उच्च देखिएको छ ।
निर्देशनालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/०७५ मा ७ सय, आ.व. ०७५/०७६ मा ६ सय ९१ जना, आव.०७६/०७७ मा ४ सय ७९ जना, आव. ०७७/०७८ मा ५ सय ६१ जना, त्यस्तै ०७८/०७९ मा ५ सय ६५ जना, आव.०७९/०८० मा ५ सय ८४ रहेकोमा ०८० साउनदेखि मङ्सिरसम्म १ सय ४८ जना कुष्ठ रोग प्रभावित रहेका छन् । यस्तै कुष्ठ प्रभावितहरू नयाँ पत्ता लाग्ने दर समेत प्रदेशमा विस्तारै बढ्दै गएको पाइएको छ ।
कुष्ठ रोग प्रभावितहरूमा सबैभन्दा बढी संख्या महिलाको रहेको छ । प्रभावितहरूमध्ये ३५.६ प्रतिशत महिलाहरू रहेका छन् । यस्तै बालबालिकामा समेत कुष्ठरोगको संक्रमण देखिएको छ । जम्मा नयाँ देखिएको बिरामीहरूमा ५.२ प्रतिशत बालबालिका रहेका छन् । गत वर्ष जम्मा देखिएका बिरामी मध्ये ६.९ प्रतिशत बालबालिकामा कुष्ठ रोगको संक्रमण देखिएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका छाला रोग विशेषज्ञ डा. कमल आचार्यका अनुसार बालबालिकाहरूमा कुष्ठरोग देखिनुले समुदायस्तरमा कुष्ठरोग व्यापक रूपमा फैलिएको हुन सक्ने अनुमान लगाउन सकिने बताउनु भयो । आचार्यका अनुसार संक्रमित बालबालिकाका आमा, बुवा र अन्य परिवारका सदस्यहरूलाई समेत भएको हुन सक्ने सम्भावना उच्च रहेको छ ।