
राष्ट्रिय सभा सदस्यका लागि ०८० माघ ११ गते भएकाे निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकाे छ । निर्वाचनमा गठबन्धनका तर्फबाट जसपाका पूजा चाैधरी र नेपाली कांग्रेसका आनन्द प्रसाद ढुंगाना निर्वाचित भएका छन् ।
ढुंगाना ७ हजार ३ सय ७० मत भारले निर्वाचित भएका हुन् । ढुंगानाले पालिकाका पदाधिकारीहरुकाे २ सय १ मत र प्रदेश सभा सदस्यका ६७ मत पाउनु भएकाे छ । त्यस्तै, गठबन्धनका चाैधरीले ७ हजार ९ सय २३ मत पाउनु भएकाे छ । उहाँले पालिकाका पदाधिकारीहरुकाे २ सय ५ मत र प्रदेश सभाका ७५ मत पाउनु भएकाे प्रदेश निर्वाचन कार्यालय मधेस प्रदेशका निमित्त प्रमुख नविन चाैधरीले बताउनु भयाे ।
राष्ट्रिय सभा सदस्य निर्वाचन मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित महेन्द्र नारायण निधि भवनमा भएकाे थियाे।
निर्वाचनमा पाँच दलीय गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका आनन्द प्रसाद ढुंगाना, जसपाबाट पूजा चौधरी, एमालेबाट अन्यमा विजयेता झा र महिलामा उषा देवी थरुनी उम्मेदवारी दिएका थिए । त्यस्तै, जनमत पार्टीकाे तर्फबाट रामशंकर महासेठले अन्य कोटाबाट उम्मेदवारी दिएका थिए ।
उक्त, निर्वाचनमा मधेस प्रदेश सभा सदस्यहरू र प्रदेश अन्तर्गतका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहेका थिए । मतदान बिहान ९ बजेदेखि सुरु भएको थियाे ।
मधेश प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ १ सय ७ जना मतदाता रहेकाेमा १ सय ६ जनाले मतदान गरेका थिए भने गाउँपालिका अध्यक्षा र उपाध्यक्षा तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फ २ सय ६७ मतदाता रहेकाेमा २ सय ६७ जनाले नै मतदान गरेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।
यसैबीच निर्वाचनकाे अनुगमन इन्सेक मधेश प्रदेश सयाेजक राजु पासवान र प्रलेख अधिकृत माेहन कुमार चाैधरीले गर्नु भएकाे थियाे ।
