तत्कालीन विद्रोही नेकपा (माओवादी) ले राखेको बम बिस्फोट भएर मृत्यु भएकी १२ वर्षीया बालिकाको परिवारले हाल सम्म न्याय नपाएको भन्दै मृतका दाजु इन्द्रावती गाउँपालिका-२, कुन्चोकका रुपक भारतीले न्यायका लागि पहल गरिदिन ०८० माघ ९ गते इन्सेकसमक्ष आग्रह गनुभएको छ ।
साबिक कुन्चोक गाविस-४ स्थित देउरालीडाँडाँको पाखामा तत्कालीन विद्रोही नेकपा (माओवादी) ले राखेको बम बिस्फोट भएर रुपक भारतीकी बहिनी १२ वर्षीया पवित्रा भारतीको ०६२ चैत २१ गते बिहान घटनास्थलमै मृत्यु भएको थियो ।
‘बिहान घाँस काट्न गएकी बहिनी फर्केर घर आउन पाइनन्, सर्वसाधारण गाउँलेले घास दाउरा गर्ने जङ्गलमा किन बम बिच्याएका होलान् ? त्यसको लेखाजोखा छैन । न्याय छैन । हामी पीडितहरू सधैँ पीडा सहेर बसिरहनु पर्ने हो ?’, मृतका दाजु भारतीको गुनासो छ ।
न्यायका लागि सत्यनिरुपण आयोगमा उजुरी दिएको भए तापनि अहिलेसम्म कुनै किसिमको न्याय नपाएको रुपक भारती बताउनुहुन्छ । समय बित्ने क्रमसँगै न्याय पनि हराउने अवस्था सिर्जना भएको भन्दै हालसम्म कतैबाट पनि न्याय नपाएकोले इन्सेकसमक्ष आग्रह गरेको उहाँले बताउनु भयो ।