INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा सदाले पाइन् नागरिकता

IMG_20240117_160532

डाक्नेश्वरी नगरपालिका–७ की चनर सदाले ६६ वर्षको उमेरमा इन्सेकको पहलमा ०८० माघ ३ गते नागरिकता प्रतिलिपी पाउनु भएको छ ।

नागरिकता अभावमा सामाजिक सुरक्षा भत्तालगायतको सुविधाबाट वञ्चित सदाको घरैमा पुगेर समस्या बुझेपछि इन्सेकले वडा कार्यालय, नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजातहरु उपलब्ध गराए पछि नागरिकता बनेको हो ।

इन्सेकद्वारा गठित डाक्नेश्वरी नगरपालिका स्तरीय मानव अधिकार समूहद्वारा समस्या पहिचान गरेपछि सदाको नागरिकताका लागि पहल थालिएको थियो । समूहलाई पुस २० गते आएको निवेदन पछि समूहले पुस २२ गते अनुगमन गरी डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहासमक्ष ध्यानाकर्षण–पत्र बुझाएको थियो ।

नागरिकताको प्रतिलिपि इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेल र इन्सेक जिल्ला सहजकर्ता अजय परियारको समन्वय र पहलमा सदाले प्राप्त गर्नुभएको हो । वि.स. २०३४ सालमा नागरिकता लिनुभएकी सदा बिगत ८ बर्ष देखि नागरिकता हराए पछि सामाजिक सुरक्षा भत्तालगायतका अधिकारबाट वञ्चित रहनु भएको थियो ।

नागरिकता पाएपछि खुसी हुँदै सदाले भन्नुभयो, ‘नागरिकता हराएकै कारण राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनु पर्दा तनावपूर्ण जीवन बिताइरहेकी थिएँ, नागरिकतालाई अब जतन गरेर राख्नेछु ।’ निरक्षर र कानुनी प्रकृया थाहा नपाएकी सदाले नागरिकता पाएपछि दंग हुँदै भन्नु भयो ‘नागरिकता अर्को पटक पनि बनाउन पाइन्छ भन्ने थाहा थिएन र बनाइ दिने पनि कोही थिएन, अब अरुहरुले झै मैले पनि सुविधा पाउने भएँ ।’

कुनै पनि नागरिक अज्ञानता र निरक्षरताकै कारण अनागरिक हुन् नपरोस र राज्यबाट पाउने सेवा सुविधाबाट कोही बञ्चित नहोस् भनेर नागरिकता बनाइ दिन पहल गरेको इन्सेक प्रतिनिधी पोखरेलले बताउनु भयो ।

अन्य

भिडियो