तुलसीपुर उपमनपामा कार्यरत कर्मचारी तुलसीपुर उपमनपा-१ का २४ वर्षीय डिल्ली न्यौपानेलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा पीडितले तुलसीपुर उपमनपा-१८ का ३२ वर्षीय गोविन्द नेपालीविरूद्ध पुस २८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको छ ।
मादक पदार्थ सेवन गरी आएका नेपालीले पुस २५ गते उपमहानगरपालिकाको गेटमा बोलाएर बजार व्यवस्थापक न्यौपानेलाई मुखमा मुक्का प्रहार गरी घाइते बनाएको र गालीगलौज गर्दै दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।
पद बजार व्यवस्थापक भएपनि उपमहानगरपालिकाले ढुंगा, गिट्टी, बालुवा चोरी नियन्त्रण गर्न खटाएका न्यौपानेलाई ट्रेक्टर व्यवसायी समेत रहेका नेपालीले कुटपिट गरेको पीडितले बताउनु भयो । कुटपिटबाट मुख र दाँतमा चोट लागेको र स्थानीय अस्पतालमा पुस २५ गते उपचार गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका कर्मचारीहरूले पुस २७ गते विज्ञप्ति प्रकाशित गरेर कर्मचारी कुटपिट गर्नेमाथि कारवाहीको माग गरेका छन् । उनीहरूले कारवाही नभए सेवा नै रोक्ने चेतावनीसमेत दिएका छन ।
आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर नवराज केसीले बताउनु भयो ।