इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको समन्वयमा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा सुत्केरी महिला र बालबालिकालाई पुस २४ गते न्यानो कपडा वितरण भएको छ । भेरी नगरपालिका–१ को रावतगाँउ, मैदे, पिपेमा न्यानो कपडा वितरण भएको हो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको संयोजनमा मानव अधिकारका लागि महिला एकल महिला समूह, सहकर्मी समाज, एडभोकेसी फोरम, रिकभरिङ् नेपाल, किर्डाक, सुन्दर नेपाल, आवाज, नवकिरण प्लस, बालविवाह विरुद्धको साझा अभियान, वाम, फेडो, आयाम नेपाल तथा जमुना रोकाय लगायतको सहयोगमा भेरी नगरपालिकाको रावतगाँउका ३३, मैदेगाँउका १०, पिपेका १४ जना भुकम्प पीडित महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो । भूकम्प पीडितलाई वितरण गरिएको न्यानो कपडामा बाक्लो सल ४५, रिवर हुक ज्याकेट ४५, हाईनेक ४५, टाउजर ४५, न्यानो टोपी ४५, २२ किलो सेनिटरी प्याड, २ कार्टुन चाउचाउ, ६ प्याकेड चिउरा, २ कार्टुन विस्कुट, ५ प्याकेट सुत्केरी किट र बालबालिकाका लागि हाइनेक १४, टाउजर १४ ओटा वितरण गरिएको छ ।
गत कात्तिक १७ गते मध्यरात गएको भूकम्पबाट घरवारविहीन भएपछि त्रिपालमुनि चिसो समयमा विचल्लीमा परेका सुत्केरी महिला तथा बालबालिकालाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरेको कर्णाली प्रदेश इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो । प्रदेश संयोजक सुवेदीका अनुसार भूकम्पका कारण घरवारविहिन भएपछि त्रिपालको ओतमा बसेका सुत्केरी महिला बालबालिकालाई न्यानो बनाउन सहयोगी दाताको सहयोगबाट भूकम्पबाट प्रभावित क्षेत्र भेरी नगरपालिका–१ रावतगाँउ, मैदे, पिपेका सुत्केरी महिला, बालबालिकालाई न्यानो कपडा वितरण गर्न पाउदाँ खुसी भएको बताउनु भयो ।
मानव अधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष ममता नगालले सबै घर भत्किएको मैदेगाँउ देख्दा भावुक भएको बताउनु भयो । त्रिपालको बसाई घर क्षतिग्रस्त अस्थायी आवास निर्माणमा जुटेका ज्येष्ठ नागरिक, युवा र बालबालिकाको विजोग अवस्था देखेपछि ठुलो सहयोगको आवश्यक रहेको बताउनु भयो ।
भूकम्पका कारण घर भत्किएपछि बढी जोखिममा ज्येष्ठ नागरिक, सुत्केरी महिला, बालबालिका दिर्घरोगी समस्यामा परेका छन् । त्रिपालमुनिको बसाइ न आगो न न्यानो कपडा चिसो समयमा बिजोग अवस्थामा रात काट्नु परेको भेरी नगरपालिका–१ मैदेकी पवित्रा रानाले बताउनुभयो । घर भत्किएपछि त्रिपालमुनि राहतबाट पाएको कपडाले रात बिताउदै आएको बताउनुभयो । भेरी नगरपालिका–१ की भगवती रानाले १८ दिनको बच्चालाई कसरी चिसोबाट बचाउ भन्ने चिन्ता लाग्छ न न्यानो बास छ न मिठो मसिनो खाना छ । ज्यालामजदुरी गरी विहान बेलुकाको छाक धानेका थियौ । भूकम्पले घरवारविहीन बनाएपछि अस्थायी आवास निर्माणमा जुटेका छौ खानाको जोहो कसरी गर्ने हो भन्ने चिन्ता भएको रानाको भनाइ छ ।
राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतका प्रमुख लोकनाथ बास्तोलासहितको टोलीले भूकम्प पीडितलाई न्यानो कपडा वितरण कार्यक्रमको अनुगमन गर्नु भएको थियो । अनुगमनका क्रममा आयोगका कर्णाली प्रदेश प्रमुख बास्तोलाले दातृ निकाय, संङ्घ संस्था, दाता र सरकारले दिएको राहत सामाग्री सहि सदुपयोग गर्न भूकम्प पीडितलाई आग्रह गर्नु भयो ।







