INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनकाे माग गर्दै गाउँसभामा धर्ना

देवघाट गाउँपालिकाको अपाङ्गता सरोकार समितिका अध्यक्ष कुमार पाण्डेले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयनको माग गर्दै गाउँसभामा धर्ना दिनुभएको छ ।

गाउँपालिकाको ०८० पुस २४ गते आयोजित १३ औं गाउँसभामा धर्ना दिँदै पाण्डेले गाउँसभाले अपाङ्गता भएका व्यक्तिहरुको हितमा कार्यक्रम ल्याउन माग गर्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको लागि विनियोजित कार्यक्रम पनि वडा कार्यालयको असहयोगको कारण कार्यान्वयन नभएको भन्दै पाण्डेले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र उनीहरुको क्षेत्रमा गाउँपालिकाले पारित गरेको कार्यक्रमहरु सबै कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

गाउँपालिकामा अपाङ्गता सरोकार समिति गठन गरिएपनि त्यसपछि कुनै समन्वय र सहकार्य पनि नभएको पाण्डेले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई कानुन अनुसारको सेवा, सुविधा र अवसरको माग गर्दै शारीरिक अपाङ्गता भएका पाण्डेले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अनुसार राज्यले निर्माण गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७ अनुसारको सेवा सुविधा र अवसर उपलब्ध गराउनु पर्ने बताउनुभयो ।

पाण्डेका अनुसार देवघाट गाउँपालिकामा ३ सय ३ जना अपाङ्गता भएका व्यक्ति छन् । त्यसमध्ये क र ख वर्गका १ सय २६ जना र ग र घ वर्गका १ सय ७७ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । वडा कार्यालयले अपाङ्गता सम्बन्धि कुनै कार्यक्रम पनि नगर्दा गत आर्थिक वर्षमा सबै बजेट फ्रिज भएर गएको पाण्डेले जानकारी दिनुभयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको बारेमा आफु सचेत भएको भन्दै उहाँहरुको अधिकार कार्यान्वयनको लागि वडा कार्यालय मार्फत पहल गरिने बताउनुभयो । वडा कार्यालयमा बिनियोजित बजेट र कार्यक्रमबाट नै वडामा रहेका सबै अपाङ्गता भएका व्यक्तिहरुलाई पनि समावेश गर्न आफुले निर्देशन दिने अध्यक्ष थापाले बताउनुभयो ।

वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले चालु आर्थिक वर्षमा अपाङ्गतासम्बन्धी कार्यक्रम समन्वय गरेर सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो । गत वर्ष बजेट फ्रिज भएर जानु दुखद भएको भन्दै उहाँले यसवर्ष त्यस्तो हुन नदिने बताउनुभयो ।

apangata ko dharna.1apangata ko dharna

अन्य

भिडियो