दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ बेलापाटा स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली बस्दै आएकी ३२ वर्षीया मानकुमारी खत्रीले प्रहरीले बिनाकसुर हिरासतमा राखेको आरोप लगाउनु भएकाे छ ।
४४ पति वर्षीय कृष्णबहादुर खत्रीले असोज १५ गते वीरेन्द्रनगर नगरपालिका– ३ की ३७ वर्षीया निर्मला गुरुङ् सँग दोस्रो विवाह गरेको र सोही विषयमा बारम्बार कुटपिट गरी घर निकाला गरेपछि पीडितले कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालयमा आराेपितविरुद्ध उजुरी दिनुभयो । उक्त जाहेरी प्रहरीले एक महिनासम्म दर्ता नगरेको पीडितले बताउनुभयो।
प्रहरीले कहिल्यै दैलेखबाट मात्रै मुद्दा चल्ने र कहिल्यै वडाबाट सिफारिस ल्याएर आउ भन्दै आफूलाई दुःख दिएको र डुङ्गेश्वर गाउँपालिका–१ का वडा अध्यक्षले समेत आफूलाई सिफारिस नबनाइदिएर उल्टै आरोपितलाई संरक्षण गरेको पीडितले आरोप लगाउनु भयो ।
इन्सेक लगायतका अन्य गैरसरकारी संस्थाको सहयोगमा मङ्सिर २० गते जाहेरी दर्ता भयो । प्रहरीले आरोपितलाई मङ्सिर ३० गते आरोपित गिरफ्तार गर्यो । विवाह गरिएकी आरोपितलाई भने प्रहरीले गिरफ्तार गरेन । जिल्ला अदालत सुर्खेतले पुस १६ गते आरोपितलाई बहुविवाहको दावी नपुगेको भन्दै ५० हजार रुपियाँ धरौटीमा छोड्ने आदेश दियो । उक्त दिन धरौटी बुझाउन नसकेपछि पुस १७ गते मात्रै धरौटी बुझाएर थुनामुक्त भए ।
आरोपित धरौटीमा छुटेको खबर बुझन कात्तिक १८ गते जिल्ला प्रहरी कायर्कालयमा जाँदा प्रहरीले अदालतबाट भएको सबै प्रक्रिया बारे जानकारी दिएको तर आफ्नो पीडा थाम्न नसकेर पीडितले प्रहरीलाई पैसा खाएर छोडेको भनेपछि प्रहरीले कुटपिट गर्दै एक रात हिरासतमा राखेको पीडितको आरोप छ ।
हिरासतभित्र बिरामी परेपछि सोही रात प्रदेश अस्पतालमा उपचार भयो । प्रहरीले कात्तिक १९ गते पीडितलाई बिनासर्त रिहा भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । अदालतले गरेको आदेशमा प्रहरीलाई अभद्र व्यवहार गर्दै गालीगलोज र विभिन्न नकरात्मक आरोपहरु लगाएपछि पीडितलाई हिरासतमा लिइएको डिएसपी शाहीले बताउनुभयो ।