आगामी ०८० माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार बागमती प्रदेशमा महिला समूहका लागि चार राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि चार राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट गरी जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
आयोगका अनुसार बागमती प्रदेशमा एक जना महिला सदस्यको लागि हुने निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट रोच कुमारी चौलागाईं, नेपाली कांग्रेसका तर्फबाट विष्णु देवी पुडासैनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट बाल कुमारी डल्लाकोटी र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्ण लक्ष्मी दुवालको मनोनयन दर्ता भएको छ ।
त्यसैगरी एक जना दलित सदस्य पदका लागि हुने निर्वाचनका लागि नेकप एमालेका तर्फबाट ध्रुवराज विश्वकर्मा, नेकपा (एकिकृत समाजबादीका) तर्फबाट घनश्याम रिजाल, नेपाल मजदुर किसान पार्टीका तर्फबाट सङ्गिता नेपाली र अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदायको एक जना सदस्य पदका लागि हुने निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट विवेक देवकोटा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट श्रीकृष्ण प्रसाद अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट भरतमणी भट्ट र नेपाल मजदुर किसान पार्टीका तर्फबाट हिमालयश्वर लाल मुलको मनोनयन दर्ता भएको छ ।
त्यसैगरी आयोगले अन्य समूहको एक सदस्य पदका लागि हुने निर्वाचनक लागि नेकपा एमालेका तर्फबाट त्रिलोचन निर्मल पौडेल, नेपाली कांग्रेसका तर्फबाट जित जङ्ग बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट हेम जङ्ग गुरुङ र नेपाल मजदुर किसान पार्टीका तर्फबाट श्रीकृष्ण महर्जनको उम्मेदवारी दर्ता भएको जनाएको छ ।
निर्वाचन आयोगद्वारा जारी तालिका अनुसार ०८० पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुनेछ ।
