राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दाङमा दलहरूले पुस २३ गते शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ताका लागि दलहरूलाई उम्मेदवारी दर्ताका लागि फरक फरक समय तोकिएको थियो । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले ¥याली सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए भने राप्रपा र जनमत पार्टीले पनि शान्तिपूर्णरुपमा मनोनयन दर्ता गराएका थिए ।
आ–आफ्नो पार्टी कार्यालयबाट ¥यालीसहित आएपनि निर्वाचन अधिकृतको कार्यालय बाहिर नेता, कार्यकर्ता बसेर उम्मेदवारी दर्ता गराएका थिए ।
लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभाका दुई रिक्त सदस्यका लागि पाँच पार्टीका सात जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले बताउनु भयो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्ता गठबन्धनको तर्फबाट महिला सदस्यका लागि नेपाली काँग्रेसकी ५७ वर्षीया विष्णुकुमारी सापकोटा (गुल्मी) र अन्य समुहका लागि नेकपा माओवादी केन्द्रका ६१ वर्षीय झक्कुप्रसाद सुवेदी (रोल्पा) ले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
यस्तै नेकपा एमालेको तर्फबाट महिला सदस्यका लागि ५१ वर्षीया तुलसाकुमारी केसी (दाङ) र अन्य समूहतर्फ ६९ वर्षीय झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा)ले उम्मेदवारी दिनु भएको छ ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट महिला सदस्यका लागि ५८ वर्षीया विजयालक्ष्मी सिंह (कपिलवस्तु) र अन्यतर्फ ७२ वर्षीय निरञ्जनकुमार थापाको उम्मेदवारी परेको छ भने जनमत पार्टीको तर्फबाट अन्यतर्फ ३६ वर्षीय बालगोविन्द चौधरीले मनोनयन दर्ता गराउनु भएको छ ।
राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते मतदान हुने कार्यक्रम तय भएको छ ।