प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतिगियोगिता २०८० को बागमती प्रदेशको छनौटमा फर्जी विद्यार्थी पठाएको भन्दै विभिन्न विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयका प्रधानाध्यापकको कार्यालयमा ०८० पुस १९ गते तोडफोड गरेका छन् ।
आगामी माघको पहिलो साता हुन गइरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश क्रिकेट सङ्घले त्रिभूवन विश्वविद्यालयको तर्फबाट टिम बनाएर पठाउनु भनेकोमा विश्वविद्यालयले फर्जी खेलाडी समेटेर टिम पठाएको भन्दै अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनसँग आबद्ध विद्यार्थीले प्रधानाध्यापकको कार्यकक्ष तोडफोड गरेका हुन् ।
त्रिविका प्रधानाध्यापकको कार्यालयले पुस १८ गते छनौट प्रतियोगितामा सहभागी हुने १८ जना खेलाडी, एक जना म्यानेजर, दुई जना प्रशिक्षकको नामावली बागमती प्रदेश क्रिकेट सङ्घलाई सिफारिस गरेको थियो । उक्त सिफारिसमा त्रिविका स्ववियु सभापतिले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी बाहेक बाहिरका मान्छे घुसाएको आरोप लगाउँदै विद्यार्थीहरू तोडफोडमा उत्रिँदा प्रधानाध्यापक ध्यानेन्द्र बहादुर राईको कार्यकक्षको टेबलको सिसा फुटेको र कागजपत्रमा क्षति पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुङ्गेलले बताउनु भयो ।
घटनाबारे प्रहरी वृत्त, कीर्तिपुरको टोलीले छानबिन गरिरहेको एसपी ढुङ्गेलले इन्सेकलाई जानकारी दिनुभयो ।