अपाङ्गता भएका व्यक्तिको गरिमा र मर्यादामा चोट वा अवहेलना नहुनेगरी समाचार सम्प्रेषण गर्नुपर्नेलगायत व्यवस्था भएको ‘अपाङ्गतामैत्री सञ्चार निर्देशिका-२०७४’ कार्यान्वयनमा आएको राससले जनाएको छ ।
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता २०७३ को दफा १२ बमोजिम जारी सो निर्देशिकामा अपाङ्गतासम्बन्धी प्रयोग गर्न हुने र नहुने शब्दावली, उखान टुक्कासमेत समावेश गरिएको छ ।
नेपाल अपाङ्ग महिला संघले सो निर्देशिकाका सम्बन्धमा काठमाडौँमा भदौ २ गते आयोजना गरेको छलफल कार्यक्रममा काउन्सिलले सो निर्देशिका कार्यान्वयनमा अनुगमन र अगुवाइको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो ।
नेपाल राष्ट्रिय अपाङ्ग महासंघकी वरिष्ठ उपाध्यक्ष टीका दाहालले आफूहरूकै परामर्शमा सो निर्देशिका ल्याइएकाले पत्रकार र सञ्चारमाध्यम संवेदनशील बन्ने अपेक्षा रहेको बताइन् ।
सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले पत्रकार आचारसंहिताको मूल अंगमै निर्देशिकाका विषयवस्तु समावेश गर्नुपर्ने विचार व्यक्त गरिन् ।
काउन्सिलका सह-प्रशासकीय अधिकृत दीपक खनाल, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदीशप्रसाद अधिकारी, संघकी अध्यक्ष निर्मला धिताल लगायतले निर्देशिकाको कार्यान्वयनमा आमसञ्चार र सामाजिक क्षेत्रबाट सहयोगको अपेक्षा राखेका छन् ।