गृह मन्त्रालयले ०८० पुस १३ गते इपीएस परिक्षाको विवादलाई लिएर बालकुमारीमा भएको प्रदर्शनमा आन्दोलनरत युवामाथि गोली चलाउन आदेश दिने ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रुद्रप्रसाद पण्डितलाई कारबाही गर्दै गृह मन्त्रालय र ललितपुर एसएसपी सिद्धिबिक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा पुस १४ गते तानेको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरका फिल्ड कमाण्डर डिएसपी उमेश लम्साल र भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको पीए सई बोधराज दनुवारलाई निलम्वन गर्ने निर्णय गरेको छ । त्यसैगरी घटनामा जिम्मेवारी बहन नसकेको भन्दै सरकारले इपीएस कोरिया शाखा, ग्वार्कोका कार्यकारी निर्देशक गुरुदत्त सुवेदीलाई पनि जिम्मेवारीबाट हटाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र गृह सचिव गृहसचिव दिनेश भट्टराईले बालकुमारी घटनाबारे सुरक्षा निकायका प्रमुख र सुरक्षामा खटिएका अधिकारीसँग ब्रिफिङ लिएपछि मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी पण्डित र प्रहरी प्रमुख एसएसपी शाहलाई जिम्मेवारीबाट फिर्ता बोलाउने र बालकुमारीमा फिल्ड कमान्डरका रूपमा खटिएका प्रहरीका डिएसपी लम्साल र मन्त्री ज्वालाका पीए दनुवारलाई पुस १४ गते निलम्वन गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले इन्सेकलाई जानकारी दिनुभयो ।
दक्षिण कोरियमा रोजगारमा जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै असन्तुष्ट युवाहरूले पुस १३ गते बालकुमारीमा गरेको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि आगजनी भएको थियो । उक्त स्तिथिलाई नियन्त्रणमा लिन प्रहरीको प्रहार गरेको गोली लागेर अछामको चौरपाटी गाउँपालिका-१ का २२ वर्षीय वीरेन्द्र शाह ठकुरीको मृत्यु भएको थियो भने प्रहरीले प्रहार गरेको लाठी लागेर दैलेखको महाबु गाउँपालिका-६ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।
मन्त्रीपरिषदको पुस १४ गते बसेको बैठकले मृतकका परिवारलाई सरकारले १०/१० लाख रुपियाँ राहत दिने निर्णय समेत गरेको छ ।