INSEC Online

📅 २०८३ जेष्ठ २२

आन्दोलनका क्रममा प्रहरीको गोली र लाठी प्रहारबाट दुई जनाको मृत्यु

दक्षिण कोरियमा रोजगारमा जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै असन्तुष्ट युवाहरूको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा दुई जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेमा अछामको चौरपाटी गाउँपालिका-१ का २२ वर्षीय वीरेन्द्र शाह ठकुरी रहेका छन् भने प्रहरीले प्रहार गरेको लाठी लागेर मृत्यु हुनेमा दैलेखको महाबु गाउँपालिका-६ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २३ वर्षीय सुजन राउत रहेका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार घाइते भएका राउतको ग्वार्कोस्थित किष्ट अस्पतालमा र शाहको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन पाँच राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ भने प्रदर्शन, आगजनी र तोडफोड गरेको आरोपमा ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेको छ । गिरफ्तारीमा परेकाहरूलाई जिल्ला प्रहरी परिसर, जावलाखेलमा राखेर अनुसन्धान र सोधपुछ गरिरहेको एसपी कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै ०८० पुस १३ गते दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्यको नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहने मन्त्रालयले जनाएको छ ।

अन्य

भिडियो