INSEC Online

📅 २०८३ जेष्ठ २१

चौतारा कारागार पुनः निर्माण नहुँदा कैदीबन्दीहरूलाई बस्नै समस्या

चौतारा कारागार पुनःनिर्माण हुन नसक्दा चौतारा बन्दीगृहमा राखिएका कैदीबन्दीहरूलाई बस्न समेत समस्या भएको छ । नेपालमा ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले पुरुष बन्दीगृह ध्वस्त बनाएको थियो । भूकम्पले भत्काएको बन्दीगृह पुनः निर्माण नभएपछि सात जना महिला राख्ने क्षमता भएको बन्दीगृहमा हाल १ सय १७ जना पुरुष बन्दीहरू राखिएको छ ।

सात जना क्षमता भएको बन्दीगृहमा २९ जना कैदी र ८८ जना थुनुवा राखिँदा कैदीबन्दीहरूलाई बस्न साँघुरो भएको, शौचालयमा लाइन लाएर जानुपरेको र खाना खाँदा पनि आलोपालो गर्नु पर्ने अवस्था रहेको चौतारा बन्दीगृहका कैदी भरत ढुङ्गानाले बताउनु भयो । उहाँका अनुसार जेल भित्र कैदीबन्दीहरूलाई सामान्य हिँड्डुल र घुमफिर गर्न समेत समस्या भएको छ ।

यस विषयमा ०८० असोज १५ गते ‘क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि चौतारा कारागारमा समस्या‘ शीर्षकमा र कात्तिक २३ गते ‘भूकम्पले ध्वस्त बनाएको बन्दीगृह पुनः निर्माण हुन नसक्दा कारागारका बन्दीहरूलाई बस्नै समस्या‘ शीर्षकमा इन्सेक अनलाइनमा पटक पटक समाचार समेटिए पनि अवस्था उस्तै रहेको छ ।

भूकम्पले ध्वस्त बनाएको बन्दीगृह पुनः निर्माणको लागि यसभन्दा अगाडी पुनः निर्माण प्राधिकरणले प्रयास गरे पनि निर्माण कार्य शुरु नभएपछि हाल सघन शहरी कार्यालयबाट पुनः निर्माण गर्ने प्रक्रिया शुरु भए तापनि हालसम्म काम शुरु नभएको कारागारका जेलर अनिल बुढाथोकीले बताउनु भयो । नयाँ बन्दीगृह निर्माण गर्ने काम माथि मन्त्रालयको भएको हुँदा आफूलाई निर्माणसम्बन्धी खास कुनै जानकारी नहुने कुरा समेत जेलर बुढाथोकीले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो