INSEC Online

📅 २०८३ जेष्ठ २१

आयुर्वेद औषधालयमा औषधी अभाव हुँदा बिरामी समस्यामा

टिकापुरको आयुर्वेद औषधालयमा दैनिक आउने बाथरोग, ग्याष्ट्रिक, पायल्स जस्ता रोगका बिरामीका  लागि अत्यावश्यक औषधीको अभाव हुँदा बिरामी समस्यामा परेका छन् ।

आयुर्वेद औषधालयमा निःशुल्क पाउने औषधी अभाव हुँदा दिनहुजसो औषधी लिन आउने बिरामी रित्तै हात फर्किनु परेको छ ।

टिकापुर नगरपालिका–५ का ६५ वर्षीय भिमबहादुर चौधरीले औषधी नपाएर दई पटक रित्तै हात घर फर्किएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘बाथरोगको समस्या छ । नियमित औषधी खाइरहनु पर्छ । अस्पतालमा लिन जाँदा औषधी पाउन सकिएको छैन् । एक महिनादेखि औषधी सेवान गर्न सकिएको छैन् । औषधी नखादा चिसोमा रोगले झन च्यापीरहेको छ ।’

टिकापुर नगरपालिका–१ का सुर्यजंग शाहीले ग्याष्ट्रिको नियमित खाने औषधी सकिएपछि पटकपटक औषधालयमा लिन जाँदा खाली हात फर्किनु परेको गुनासो गर्नु भयो ।

टिकापुर नगरपालिका–८ की महिला स्वास्थ्य स्वयम्सेविका सरिता चौधरीले आयुर्वेदमा औषधी नपाएर विभिन्न समस्या भएका बिरामीहरुले आफूसँग औषधी माग्न आउने गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘आयुर्वेदमा निःशुल्क पाउने औषधी अर्थिक समस्यामा परेका गरिब किसानहरुले सहज रुपमा पाउनु पर्ने हो । तर, निःशुल्क पाउने औषधी जहिले पनि आभाव हुदा बिरामीहरु समस्यामा छन् ।’

टिकापुर आयुर्वेद औषधालयका प्रमुुख निरीक्षक अशोककुमार मिश्रले पछिल्लो समयमा बिरामीको सङ््ख्यामा बृद्धि भएको कारण औषधी अभाव हुनेगरेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘पहिले भन्दा यस वर्ष आयुर्वेदमा बिरामीहरुको आकर्षण बढेको छ । तर, औषधीको कोटा थप नगरिएको कारण अभाव देखिएको हो । यस वर्ष औषधीको कोटा थपेर थप औषधीको माग गर्ने योजनामा र्छौँ । नगरपालिकाको  स्वास्थ्य  शाखामा औषधीको अभाव बारे सूचना पठाइसकेका छौँ ।’

टिकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले आयुर्वेद औषधालयका लागि थप औषधी खरिद गर्न कोटेशनको प्रक्रिया अगाडि बढाइएकोले केही दिनमा औषधी आइपुग्ने बताउनु भयो ।

अन्य

भिडियो