वैतेश्वर गाउँपालिका-६, घिमिरेटारकी ३७ वर्षीया सुन्तली घिमिरेले आफूलाई स्थानीय वन्दुहरूको पुजारी माधव घिमिरे लगायतका समूहले सामाजिक बहिस्करण गरेको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरेको भन्दै न्यायका लागि आवश्यक पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको टोलीसमक्ष ०८० पुस १२ गते आग्रह गर्नुभएको छ ।
गाउँमा उक्त समूहले ०८० पुस ९ गते कुल पुजा देवालीमा आफ्नो धुप अक्षता बाल्न नदिएर आफूलाई सामाजिक बहिस्कार भएकोले कानुन बमोजिम अनुसन्धान गरिपाँउ भनी उजुरी दिँदा जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गर्न इन्कार गरेको पीडित घिमिरेले बताउनु भयो ।
पीडित घिमिरेका पति मीनप्रसाद घिमिरेले ४० वर्षीया महिलालाई ०७९ फागुन २ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालतको फागुन २८ गतेको इजलासले पुर्पक्षका लागि थुनामा पठायो । सोही घटनाले उहाँलाई समाजले कुल पुजामा बहिस्कार गरेका हुन् ।
यस अगाडि ०८० वैशाख २१ गते गोठमा धुप बाल्न आवश्यक सामाग्री लिएर जाँदा घिमेरे परिवारले तातो खिरले अनुहारमा हानेर निजको अनुहार समेतमा चोट लागेको थियो । उक्त विषयमा प्रहरीले पीडितका उपचार खर्च घिमिरे परिवारले व्यहोर्ने सर्तमा मिलापत्र गराएको थियो । कुल पुजा देवालीमा पुनः बहिस्कार गरेपछि पीडितले प्रहरीमा उजुरी दिनुभएको थियो ।
इन्सेक जिल्ला प्रतिनिधि, राष्ट्रिय मानव अधिकार अधिकृत कृष्णप्रसाद मिश्र र लोकनाथ घिमिरेको संलग्न टोली पुस १२ गते दोलखामा भएका मानव अधिकार उल्लङ्घनका घटनाको अवस्थाको बारेमा अनुगमन गर्ने क्रममा पीडितले उक्त समस्या बताउनुभएको हो ।
घटनाका सम्बन्धमा गम्भीर रूपमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई निर्देशन गर्ने राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रशासन प्रमुख लोकनाथ घिमिरेले बताउनु भयो । पीडितले प्रहरीले उजुरी दर्ता गर्न इन्कार गरेको भन्दै आयोगको अनुसन्धान टोली मार्फत आयोगमा उजुरी दर्ता गर्न माग गर्दै उजुरी दिनुभएको छ ।
