INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार आरोपित हाजिर हुनासाथ कारागारमा

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका खडक नगरपालिका–४ पन्सेरा घर भई बोदे बर्साइन नगरपालिका–५ स्थित बजारमा पसल गर्ने २४ वर्षीय कैला भनिने प्रेमसागर विश्वकर्मा हाजिर हुनासाथ ०८० पुस ११ गते राजविराज कारागारमा थुनिएका छन् ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासबाट आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका हुन् ।

उक्त घटनामा डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहा घर भई शम्भुनाथ नगरपालिका–१२ अर्नाहा चोकमा सुनचाँदीको पसल गर्ने ४० वर्षीय मनोज विश्वकर्मा ०७८ माघ १ गतेदेखि थुनामा छन् । प्रहरीबाट ०७८ माघ १ गते गिरफ्तार भई माघ ३ गते पुर्पक्षका लागि थुनामा परेका मनोजलाई न्यायाधीश प्रमेश पोखरेलको इजलासले ०७९ फागुन १५ गते १३ वर्ष कैदसजायको फैसला गरेको थियो । अर्का आरोपित बोदे बर्साइन नगरपालिका–६ फुलकाही खमगाडा घर भई बोदे बर्साइन नगरपालिक–५ स्थित बजार बस्ने ३५ वर्षीय दिपक विश्वकर्मा हालसम्म फरार छन् ।

आरोपितहरुले ०७७ मङ्सिर १ गते राति बालिकालाई बलात्कार गरेको भन्दै पीडितका दाजुले जिल्ला प्रहरी कार्यालयमा ०७७ मङ्सिर ३ गते उजुरी दिनुभएको थियो । धान खेत गएका बुवाको प्रतिक्षामा आगो तापेर घर अगाडि बसेकी पीडित शौचालय गएको मौका छोपी आरोपितहरूले घिस्याउँदै डाक्नेश्वरी नगरपालिका–८ प्रवाहास्थित विषहरिया टोलदेखि दक्षिण श्यामलाल सरकारको बाँसघारी लगेर बलात्कार गरेको पीडितले बताउनु भयो । भयभित पीडित बेहोस भई काम्न थालेपछि आरोपितहरू फरार भएको तथा परिवारका सदस्य र गाउँलेहरूले खोजी गरी बेहोस अवस्थामा मङ्सिर १ गते राति पीडितलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेका थिए ।

घटनास्थलबाट आरोपित मनोजको स.३प ५६५९ नम्बरको मोटरसाइकल, पीडितको सल र केश च्याप्ने चिम्टी फेला परेको प्रहरीले जनाएको छ । पीडितको राजविराजस्थित अस्पतालमा ०७७ मङ्सिर २ गते स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालयले मङ्सिर ३ गते बलात्कारको उजुरी दर्ता गरेको थियो । आरोपितहरु फरार रहेको अवस्थामा जिल्ला अदालतमा ०७८ कात्तिक ३० गते बलात्कारको अभियोजनपत्र दायर भएको थियो ।

अन्य

भिडियो