निर्वाचन आयोगले ०८० माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचन चुनावका मतदान केन्द्र तोकेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ०८० पुस ५ गते विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक एक ओटा मतदानस्थल र सोही स्थानमा दुई दुई ओटा मतदान केन्द्र रहने गरी जम्मा सात मतदान स्थल र १४ ओटा मतदान केन्द्र तोकिएको जानकारी गराउनुभएको हो ।
आयोगका अनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि श्री भुटनदेवी मावि, प्राविधिक शिक्षालय, ब्लक प्राविधिक भवन, हेटौँडा, मकवानपुरमा मतदानस्थल तोकिएको छ ।
यस्तै गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको जानकारी अनुसार तोकिएका उक्त मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन् ।
आयोगले यसअघि निर्वाचनका लागि नै प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकेको छ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको ६ वर्षे कार्यकाल सकिँदैछ । आयोगले सोही रिक्त हुन लागेका राष्ट्रिय सभा सदस्यहरूको सोही स्थान पूर्तिका लागि निर्वाचन गर्न लागेको हो ।