INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित

चौतारा सागाचोकगढी नगरपालिका-७, सानुसिरुवारीकी २५ वर्षीया बिन्दा श्रेष्ठ अपाङ्गता भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित हुनुभएको छ ।

अपाङ्गता भएपछि विद्यालय पढ्नबाट वञ्चित हुनुभएकी बिन्दा श्रेष्ठको जीवन कष्टकर बन्दै छ । आठ वर्षको उमेर हुँदा अचानक बिरामी भएर बायाँ अङ्ग नचल्ने भएपछि विद्यालयका विद्यार्थीहरूसँग उमेर समूहको अन्तर भएको भन्दै विद्यालयले पढ्नबाट वञ्चित गराएको बिन्दाको भनाई छ ।

दुई वर्ष अघि उहाँको आमा बित्नुभयो । ७५ वर्षीय बुबा अहिले मुटुको रोगी हुनुहुन्छ । उहाँले नियमित औषधि सेवन गरिरहनुभएको छ । ‘क’ वर्गको अपाङ्ग परिचय पत्र पाउनुभएकी बिन्दाले सरकारबाट उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता मासिक ४ हजार रुपियाँ पाउनुहुन्छ । सामाजिक सुरक्षा भत्ताबाट प्राप्त भएको रकमले आफ्नो जीवन धान्न परेको बिन्दा बताउनुहुन्छ ।

बायाँ हात र खुट्टाले काम नगरेर अपाङ्ग हुनुभएकी बिन्दा अन्य प्रविधियुक्त काम गरेर जीवनयापन गर्ने रहर भए पनि अपाङ्गता भएका कारण पढ्न नपाएकोले आफ्नो रहर पुरा नभएको उहाँको गुनासो छ ।

बिरामी भएर दुई वर्ष त उपचारको लागि अस्पतालमा समय बित्यो । अस्पतालको उपचारपछि सानोसिरुवारी गाउँकै विद्यालय श्री सिद्धिगणेश माविको कक्षा ५ मा भर्ना भएर पढ्न सुरु गर्नुभएको थियो । तर कक्षा ७ उत्रिण भएपछि विद्यालयमा पढ्ने अरु विद्यार्थीहरू उहाँभन्दा निकै कम उमेर भएकाले उहाँलाई विद्यालयमा नभएर अनौपचारिक कक्षामा पढ्न प्रेरित गर्दै विद्यालयले विद्यालय पढ्नबाट वञ्चित गराएको बिन्दा श्रेष्ठकी दिदि सिर्जना श्रेष्ठले बताउनु भयो ।

श्री सिद्धिगणेश माविका प्रधानाध्यापक राजकुमार यादवका अनुसार सोही कक्षामा पढ्ने अन्य विद्यार्थीहरू र बिन्दाको उमेर समूह नमिलेकोले विद्यालयमा भर्ना गर्न समस्या भएको हो ।

‘घरमा आमा नभएकी टुहुरी हुँ म । मलाई पढ्नबाट वञ्चित गराएकाले अहिले कष्टकर जीवन बिताउँदै छु । मेरो जीवनको भविष्य अन्धकार भएको महसुस मैले गरेको छु’, दुखेसो पोख्दै बिन्दा श्रेष्ठले बताउनु भयो ।

नेपालको संविधान २०७२ को मौलिक हकको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरेको छ, जसमा सबै नागरिकलाई आधारभूत शिक्षामा पहुँचको प्रत्याभूत गरिएको छ । त्यसैगरी अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुने भनिएको छ । तर चौतारा सागाचोकगढी नगरपालिका-७ की २५ वर्षीया बिन्दा श्रेष्ठ शिक्षाको अधिकारबाट वञ्चित हुनुको साथै उहाँको जीवन कष्टकर बन्दै छ ।

अन्य

भिडियो