
राजविराज नगरपालिका–१६ बोरियास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी १६ वर्षीय विकास कुमार मण्डल र रोशनकुमार साहमाथि भएको कुटपिट विरुद्ध विद्यार्थीहरूले ०८० मङ्सिर २९ गते तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।
कुटपिट गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ३६ वर्षीय रितेश यादव र प्रधानाध्यापक ४४ वर्षीय रामानन्द सुनरैत यादवसहित संलग्नमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरुले मङ्सिर २७ गतेदेखि थालेको विरोध प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।
चर्को नारा जुलुससहित विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आन्दोलनलाई विभिन्न राजनीतिक पार्टी आवद्ध विद्यार्थी संगठनले साथ दिएका छन् ।
विद्यार्थीहरूले मङ्सिर २८ गते राजविराज नगरपरिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । यसअघि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले अध्यक्ष यादव र प्रधानाध्यापक सुनरैतको पुतला जलाउँदै टायर बालेर विरोध जनाएका थिए । राजविराज नगरपालिकाको कार्यालय अगाडि मङ्सिर २७ गते धर्ना दिने क्रममा नगरपालिका कार्यालयमा ढुङ्गामुढा हुँदा झ्यालको शिशा फुट्नुका साथै पूmलको गमलाहरूमा क्षति पुगेको छ । प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका थिए ।
प्रदर्शनकारीहरूका अनुसार माध्यमिक शिक्षा परिक्षा (एसइई)को आवेदन फारममा दोब्बर शुल्क असुली गरेको भनी विरोध जनाएका विद्यार्थी मण्डल र साहलाई आरोपितहरूले विद्यालयमै कुटपिट गरेका थिए । घाइतेहरूको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भएको छ । सहकर्मीमाथि कुटपिटमा संलग्नमाथि कानुन बमोजिम कारबाही हुनुपर्ने माग राज यादवले गर्नु भयो । राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परवीनले आन्दोलनकारीहरू सँग वार्ता गरेपनि निकास निक्लन सकेको छैन् ।
