INSEC Online

📅 २०८३ जेष्ठ २१

थमन बिकको हत्या गरेको कसुरमा सात जनालाई जन्मकैद

शसस्त्र प्रहरी असई थमन वि.क.को हत्या घटनाको कसुरमा सात जनालाई जन्मकैदको सजाय र सोही घटनाका आरोपितहरु लक्ष्मी महतो र पवन कापरलाई ०८० मङ्सिर २८ गते महोत्तरी जिल्ला अदालतले सफाई दिने फैसला सुनाएको छ ।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुर्पक्षका लागि थुनामा रहेका प्रदिप साह माझी, सञ्जय कुमार साह, मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख शङ्कर शाही भन्ने रामशङ्कर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, लोसपा नेता सुरेश पाण्डेय र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको छ । सोही घटनामा संलग्न रहेको आरोपमा सांसदबाट निलम्बित रहेका लक्ष्मी महतो कोइरी र पुर्पक्षको लागि थुनामा रहेका पवन कापरलाई अदालतले अभियोग दावीबाट सफाई दिएको छ ।

जन्म कैदको सजाय तोकिएका सात जनालाई एम्बुलेन्समा आगलागी गरेको अर्को मुद्दामा थप ६ महिना कैद र १० लाख रुपियाँ क्षतिपूर्तिको फैसला भएको छ । उक्त क्षतिपुर्तिको रकम नेपाल सरकारलाई बुझाउनु पर्ने फैसला गरिएको श्रेस्तेदार नुतन शर्माले बताउनु भयो ।

सोही मुद्दामा रमेशप्रसाद साह, सतेन्द्र चौधरी भन्ने सविन्द्र चौधरी, चन्देश्वर साह मेहत्तरी, राजु चौधरी भन्ने राजा चौधरी, देवेन्द्र चौधरी, नरेश साह, रामराजा साह, गोलु साह हरिओम कुमार भगत, रविन्द्र राम चमार, रंजित साह, विक्की साह, फुले यादव, रोहित कुमार शर्मा, ललवा भन्ने लालबाबु बिन, शम्भु साह, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादवको हकमा मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ ।

अन्य

भिडियो