INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थी कुटपिटको घटनाको विरोधमा प्रदर्शन

IMG-20231213-WA0125
राजविराज नगरपालिका–१६ बोरिया घर भई सोही ठाउँमा अवस्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयमा कक्षा १० प्राविधिकतर्फ अध्ययनरत १६ वर्षीय विकास कुमार मण्डल र रोशनकुमार साहलाई प्रधानाध्यापक ४४ वर्षीय रामानन्द सुनरैत यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ३६ वर्षीय रितेश यादव, राजविराज नगरपालिका–७ का ४४ वर्षीय प्रकाश यादव र बोरियाकै ४५ वर्षीय उमेश यादवले कुटपिट गरेको भन्दै विद्यार्थीहरूले मङ्सिर २७ गते राजविराजमा विरोध प्रदर्शन गरेका छन्  ।

तोकिएको भन्दा बढी परीक्षा शुल्क लिएकोबारे प्रश्न उठाउँदै रसिद मागेको तथा परीक्षाको फर्म भरेबापत शुल्क तिरे पनि विद्यालयले परीक्षा शुल्कको नाममा थप रकम मागेको विषय सार्वजनिक गरेको आवेगमा आरोपितहरूले कुटपिट गरेको घाइते मण्डलले बताउनु भयो । “कक्षा १० को फर्म भर्न अन्य विद्यालयमा ४ सय लिने गरेकोमा हाम्रो विद्यालयले एक हजार रूपियाँ शुल्क लिएको छ, त्यो तिरेकोमा पछि परीक्षाको प्रवेश पत्र लिन खोज्दा थप चार सय रूपियाँ मागियो” मण्डलले जानकारी दिनु भयो ।

मनोमानी रकम असुल गरेको भन्दै विरोध गरेको संवादसहितको भिडिओ साथीहरूले मङ्सिर २५ गते फेसबुकमा पोस्ट गरेपछि आवेगमा आएका आरोपितहरूले विद्यालयको वेइज्जत गरेको भन्दै मङ्सिर २६ गते कुटपिट गरेको घाइते साहले बताउनु भयो । घाइते बिद्यार्थीहरूका अनुसार फलामको रडले कुटपिट गरेर आरोपितहरूले कपडा खोल्न लगाई नाङ्गो पारी भिडिओ बनाएर राखेका छन् । शुल्कको विरोध गरेमा वा घटनाबारे कसैलाई भनेमा उक्त भिडिओ फेसबुकमा पोष्ट गरदिने धम्की समेत दिएको उहाँहरूले बताउनु भयो ।

दोषी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतमाथि कारबाहीको माग गर्दै विरोधमा उत्रिएका विद्यालयका करिव ५ सय बिद्यार्थीहरूले राजविराजमा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरे । आक्रोशित बिद्यार्थीहरूले नाराबाजी गर्दै राजविराज नगर परिक्रमा गर्नुका साथै शिक्षा विकास तथा समन्वय इकाई, राजविराज नगरपालिकालगायत सरोकारवाला कार्यालय पुगेर घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माँग गरेका छन् । उनीहरूले शहरको विभिन्न भागको परिक्रमा गर्दै सहिद दशन चोकमा केही बेर चक्का जाम गर्नुका साथै नगरपालिका कार्यालयमा प्रदर्शन गर्दा कामकाज प्रभावित भएको छ । राजविराज तनावग्रस्त भएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालित भएको छ ।

अतिथी सत्कार, बिजुली बिल, अतिरिक्त समय शिक्षक, कम्प्युटर शिक्षा, इ–लाइब्रेरीका लागि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यार्थीहरूबाट विद्यालय सुधार सहयोग शुल्क लिने गरिएको प्रअ यादवले स्विकार्नु भयो । कक्षा ९ का लागि ५ सय र कक्षा १० का लागि एक हजार रूपियाँ रजिष्ट्रेशन शुल्क लिईरहेको स्विकारे पनि प्रधानाध्यापक यादवले विद्यार्थीलाई कुटपीट नगरेको दाबी गर्नुभयो ।

उता घाइते विद्यार्थीहरूको आँखा, पिठ्यु र शरिरको विभिन्न भागमा निलडाम र चोट लागेको छ । घाइतेहरूको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भयो । विभिन्न बिद्यार्थी संगठनहरूले बिद्यार्थीमाथि भएको कुटपिटको भत्सर्ना गर्दै दोषीहरूमाथि कारवाही गर्न माग गरेका छन् । विद्यार्थी संगठनका नेताहरूले आन्दोलनमा प्रत्यक्ष संलग्न रहेर सहयोग गरिरहेका छन् । विद्यार्थी नेताहरूले आरोपितहरूलाई कारबाही नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अन्य

भिडियो