जिल्ला कारागार कार्यालय, मोरङका थुनुवाको शङ्कास्पद मृत्यु घटना छानविनका लागि मङ्सिर २७ गते समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, मोरङले सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ ।
समितिमा कोसी अस्पतालका चिकित्सक मनोज ठाकुर, इन्स्पेक्टर हेमराज ओली र लेटाङ नगरपालिका-४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य रहनु भएको छ ।
समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश प्राप्त गरेको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताउनु भयो ।
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागार, मोरङमा पुर्पक्षमा रहेको अवस्थामा ०८० मङ्सिर २१ गते शङ्कास्पद मृत्यु भएको थियो ।
भुजेलको कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
तर, पीडित परिवारले उपचारका क्रममा मृत्यु भएको नभई मृत्यु शङ्कास्पद भनेर लास बुझ्न अस्वीकार गरेपछि लास कोशी अस्पतालमा शवगृहमा मङ्सिर २१ गतेदेखि राखिएको छ ।
कारागारभित्रै कुटपिट गरी भुजेलको मृत्यु भएको परिवारको दाबी छ । मृत्यु हुनुभन्दा एक घण्टा अघिमात्र खबर गरिएकाले घटना रहस्यमय भएको मृतककी भाञ्जी एलिना भुजेलले बताउनु भयो । टाउकोमा चोट तथा रगत देखिएको परिवारको भनाइ छ ।
मृततकी पत्नी रामकुमारी भुजेलले घटना शङ्कास्पद भएको बताउनु भयो । पेट दुख्ने र वान्ता हुने गर्न थालेपछि भुजेललाई अस्पताल भर्ना गरिएको कारागार प्रशासनले जनाएको छ ।
पीडित परिवारले शङ्कास्पद मृत्यु भएका कारण छानविन समिति गठन नभई लास नबुझ्ने अडान राखेपछि छानविन समिति गठन गरिएको हो ।
बलात्कार मुद्दामा ०८० कात्तिक ६ गते गिरफ्तारमा परेका भुजेलविरूद्ध प्रहरीले जिल्ला अदालतमा कात्तिक २१ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका कात्तिक २१ गतेको आदेशमा भुजेल पुर्पक्षका लागि जिल्ला कारागार, मोरङमा थिए ।
कारागारका जेलर कृष्णहरि न्यौपानेले भुजेलको उपचारका क्रममा मृत्यु भएको र कारागारमा गल्ती नभएको बताउनु भएको छ ।