१४ वर्षीया बालिका बलात्कृत भएको भन्दै पीडित पक्षले साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि हालसम्म उजुरी दर्ता नगरेको भन्दै पीडितका आफन्त र स्थानीयबासीले उजुरी दर्ता गरी अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा दबाव स्वरूप प्रदर्शन गरेका छन् ।
पीडित बालिकालाई बर्दघाट नपा–१ का २७ वर्षीय हेमे चौधरी सोही ठाउँका २१ वर्षीय निरज चौधरी, २९ वर्षीय निरञ्जन चौधरी, १९ वर्षीय अर्जुन परियार र अभिषेक बासकोटी विरूद्ध उजुरी दिएको भएपनि प्रहरीले उजुरी दर्ता नगरेको भन्दै पीडित पक्षले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा साउन २५ गते प्रदर्शन गरेका हुन् ।
यसै क्रममा आरोपित पक्षबाट पनि निर्दोष व्यक्तिहरूलाई गिरफ्तार गरेकोमा रिहा माग गर्दै जिल्ला प्रहरी र जिल्ला प्रशासनमा सोही समयमा घेराउ गर्दा दुवैपक्षबिच विवाद समेत भएको थियो ।
मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढेको र घटनाका आरोपितलाई उन्मुक्ति नदिइने बताउँदै जिल्ला प्रहरी कार्यलय नवलपरासीका एसपी राजेन्द्र चौधरीले प्रमाणको अभावमा मुद्दा दर्ता गर्न ढिलाई भएको जानकारी दिए ।