INSEC Online

📅 २०८३ जेष्ठ २२

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तद्वारा डाक्टरमाथि कुटपिट

गुल्मी जिल्ला सत्यवती गाउँपालिका–४ ठूलो लुम्पेककी ३५ वर्षीया भवानी रास्कोटीको उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले बुटवल उपमनपा–१० बेसक्याम घरभई सिद्धार्थ बाल तथा महिला अस्पताल, आम्दाका मेडिकल सुपरिटेण्डेन बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ ४६ वर्षीय डाक्टर राजेन्द्र बस्यालमाथि मङ्सिर १२ गते राती कुटपिट गरेका छन् ।

सुरक्षित सुत्केरी सेवाका लागि मङ्सिर ११ गते बिहान भर्ना भएकी महिलाको पेटमा बच्चा ठूलो भएकोले शल्यक्रिया गरेर मङ्सिर ११ गते बिहान ११ बजे पाँच किलोग्राम तौलको शिशुलाई जन्माइएको थियो ।

अस्पतालका सूचना अधिकारी खगेन्द्र क्षेत्रीका अनुसार शल्यक्रिया गर्दासम्म स्वास्थ्य अवस्था सामान्य रहेको र मङ्सिर १२ गते बिहान डाक्टरले राउण्ड गर्दा पनि अवस्था सामान्य रहेको थियो ।  दिउँसो १२ बजे महिला सुतेर एक्कासी उठ्ने बेला शरिरमा अचानक कम्पन भएर रिङ्टा लागेको महिलाले जानकारी दिएको क्षेत्रीले बताउनु भयो । उपचारकै क्रममा मङ्सिर १२ गते दिउँसो साढे १ बजे बिरामीको मृत्यु भएको थियो । भने बच्चा स्वस्थ रहेको अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार बच्चाको तौल ठूलो भएको र बच्चा जन्मिसकेपछि पाठेघर आफै खुम्चने हुन्छ र सोही क्रममा एक्कासी पल्मोनरी कार्डियोको समस्या भई हार्टअट्याक भएर मृत्यु भएको हो । विशेषज्ञका अनुसार यस्ता घटनाहरू लाख मा १० जनालाई हुन्छ ।

घटनापछि मृतकका आफ्न्त, पति र अन्य दुईलाई घटनाका विषयमा बुझाइएको थियो । मृतकका अन्य आफन्तहरूले आमाको मृत्यु भएपनि शिशुका लागि हेरविचार गरीदिनु पर्‍यो भन्दै ५० लाख रूपियाँ माग राखेको र  अस्पतालले कुनै कमजोरी नगरी दिन मिल्दैन ।  तपाईलाई त्यस्तो लाग्यो भने कानुनी उपचार खोज्नुस् भन्दा मेसुमाथि एक्कासी टाउँको र पेटमा कुर्सी र मुक्का प्रहार गरेको अस्पतालका सूचना अधिकारी क्षेत्रीले इन्सेकसँगको कुराकानीमा बताउनु भयो ।

कुटपिटबाट घाइते भएका डाक्टरको बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयुमा उपचार भइरहेको छ ।

अस्पताल प्रशासनसँग सहमति भई मृतकको शव आफन्तले शव वाहनमा राखेर निस्कने तयारी गरी रहेको बेला उत्तेजक समूह पसेर बस्यालमाथि आक्रमण गरेका थिए । अहिले मृतक महिलाको शव अस्पताल परिसरमै शव वाहनमा राखिएको छ ।

मृतकका आफन्तहरूको आक्रमणबाट  अस्पतालको प्रशासनिक भवनका झ्याल, ढोका लगायतका फर्निचरहरू तोडफोड गरिएकाो छ । अस्पताल अहिले प्रहरीको सुरक्षामा रहेको र कुनै पनि नयाँ बिरामीहरूको भर्ना गरिएको छैन ।

लुम्बिनी चिकित्सक संघका महासचिव बरिष्ठ बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले घटनाको विषयमा कुनै शंका भएमा कानुनी उपचार गर्नुको सट्टा चिकित्सक माथि हातपात गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै दोषीलाई कारवाही र चिकित्सकहरूको सुरक्षाको ग्यारेण्टी नभएसम्म आफूहरूले डिउटी गर्न नसकिने विज्ञप्ति मार्फत जनाएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाका अनुसार सुत्केरीको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले ५० लाख रूपियाँ क्षतिपूर्ति मागेको र अस्पताल प्रशासनले अस्पतालको गल्ती नभइ क्षतिपूर्ति कसरी दिन मिल्छ भन्दा डाक्टरमाथि कुटपिट भएको हो । डिएसपी थापाले घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले घटनास्थलबाट ६ जनालाई गिरफ्तार गरी आवस्यक अनुसन्धान भइरहेको बताउनु भयो ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका मेडिकल सुपरिटेण्डेन बरिष्ठ फिजिसियन डाक्टर सुदर्शन थापाका अनुसार कुटपिटबाट डाक्टर बस्यालको टाउको र पेटमा चोट लागेकोले आइसीयुमा राखेर उपचार भइरहेको छ ।

अन्य

भिडियो