तनहुँका मानव अधिकारकर्मीहरूले चिकित्सा क्षेत्रका बेथितिविरूद्ध १४ दिनदेखि आमरण अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षा गर्न माग गरेका छन् ।
साउन २२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले डा. केसीले प्रस्तुत गरेका मागहरू उनका निजी नभई सार्वजानिक जीवनका सरोकारका विषयहरू भएको हुँदा ती मागहरू राज्यले सम्बोधन गर्नु पर्ने मानव अधिकारकर्मीहरूले सरकार समक्ष अनुरोध गरेका छन् ।
डा.केसीका मागहरू सम्बोधन गर्ने सम्बन्धमा यसअघि पनि सरकारले पटकपटक प्रतिबद्धता जनाए पनि उक्त विषयमा हालसम्म कार्यान्वयन नगरेको हुँदा ती मागलाई सरकारले नै बेवास्ता गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
मानव अधिकार सञ्जाल, इन्सेक, मानव अधिकार सङ्गठन, मानव अधिकार तथा शान्ति समाज, नेपाल बार एसोसियशन, नेपाल पत्रकार महासङ्घ, गैसस महासङ्घ, महिला मानव अधिकार रक्षक सञ्जाललगायतका संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सरकारसमक्ष यथाशीघ्र डा. केसीले राखेका माग पुरा गरी अविभावकत्व ग्रहण गर्न अनुरोध गरिएको छ ।