पाँच जना महिलालाई यौन कार्यमा लगाएको आरोपमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ का ५७ वर्षीय अरुणचन्द्र मिश्र र गेष्ट हाउसका मेनेजर महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डल मङ्सिर १० गते गिरफ्तार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपितहरूलाई गिरफ्तार गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको सूचना अधिकारी एवम् डिएसपी ढुण्डीराज नेउपानेले बताउनु भयो । आरोपितहरूले फोन सम्पर्कको आधारमा विभिन्न प्रलोभन दिई महिलाहरूलाई जबरजस्ती यौन कार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले गेष्ट हाउसमा छापा मार्दा सञ्चालक मिश्र र मेनेजर मण्डलले जबरजस्ती यौन कार्य गराउने कार्यमा राखिएका २५ देखि ३५ वर्ष उमेरका पाँच जना महिलाहरू फेला पारेको थियो । फेला परेका महिलामा एक जना सुनसरीका र चार जना सप्तरीका महिला छन् ।