पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका-१९ मा साउन २० गते बिहानदेखि पुनः मतदान सुरु भएको राससले जनाएको छ ।
बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ ओटा मतदान केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए ।
सो वडामा किरण मावि, किरणगञ्ज मतदानस्थलमा १ हजार २ सय ४८, जीवनज्योति स्कुल गुञ्जनगरमा १ हजार ३ सय ६ र शारदानगर माविमा १ हजार २ सय ४३ गरी कुल ३ हजार ७ सय ९७ मतदाता छन् ।
मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साउन २० गतेदेखि नै सो वडामा पानी परिरहेकाले हिलो भएपछि मतदाता आउन ढिलाइ गरेको जीवनज्योति स्कुल, गुञ्जनगरमा रहेका तत्कालीन गुञ्जनगर गाउँ विकास समितिका उपाध्यक्ष विष्णु ढकालले बताए ।
यद्यपि, मतदाता आउने क्रम ७ बजेपछि बढेको उनले जानकारी दिए । राष्ट्रिय चर्चामा रहेको यस वडामा निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । एउटा वडामा मात्रै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाका अनुसार नेपाल प्रहरीका ४ सय ६१ र सशस्त्र प्रहरीका २ सय ९५ जना परिचालन गरिएको छ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएको जनाइएको छ ।
गए राति १२ बजेदेखि सो वडामा प्रवेश गर्ने नाकाहरु बन्द गराइएको थापाले बताए । थापाका अनुसार तीनओटा मतदानस्थलमा इन्स्पेक्टरको नेतृत्वमा प्रत्येकमा ३५ जनाको टोली परिचालन गरिएको छ । इन्स्पेक्टरकै नेतृत्वमा तीनओटा मोबाइल टोली पनि परिचालन गरिएको छ भने डिएसपीको नेतृत्वमा तीनओटा स्ट्राइकिङ टोली परिचालन गरिएका छन् । थप सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथीमा राखिएको छ ।
मोबाइल टोली मतदान केन्द्रमा घुमिरहने छ भने स्ट्राइकिङ टोली समस्या परेको ठाउँमा तत्काल पुग्नेछ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछन् । जिल्लाका अतिरिक्त हेटौँडाको दङ्गा नियन्त्रण प्रहरी गणबाट पनि १ सय प्रहरी झिकाइएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्ला पूरै हेर्न सक्ने सुरक्षा जनशक्ति एउटा वडामा परिचालन गरिएकाले कुनै समस्या नहुने बताए । निर्वाचनको अनुगमनका लागि निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेल र सहन्यायाधिवक्ता कृष्णजिवी घिमिरे साउन २० गते नै यहाँ आइपुगेका छन् ।
गत जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर-१९ को विषयमा सर्वोच्च अदालतले साउन १५ गते निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि साउन २० गते पुनः निर्वाचन हुन लागेको हो ।
भरतपुरका २७ वटा वडाको अन्तिम परिणामअनुसार नेकपा (एमाले)का नगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९ सय ८० मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र) तथा नेपाली काङ्ग्रेस गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ४० हजार १ सय ९४ मत प्राप्त गरेकी छन् ।
यसअघि वडा नं. १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो । वडा नं १९ मा ३ हजार ८ सय ९७ मतदाता छन् । महानगरको वडा नम्वर २० को ३ हजार ३ सय २ मत पनि गणना गर्न बाँकी रहेको छ ।