मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आन्दोलनमा सरिक हुन आएका ५० जनाभन्दा बढीलाई प्रहरीले काठमाडौँका विभिन्न ठाउँबाट गिरफ्तार गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँको आन्दोलनका लागि तोकिदिएको स्थान बल्खु छाडेर तीनकुनेमा प्रदर्शन गर्ने बताएपछि आन्दोलनमा सहभागी हुन आएका व्यक्तिहरूलाई तिनकुने, गैरीगाउँ, सुन्धारा, थापाथली, फुटुङ लगायतका स्थानबाट गिरफ्तार गरेको हो ।
गिरफ्तारीमा पर्नेहरूमा मीना शाही, आङनिमा शेर्पा, सावित्री क्षेत्री, उपेन्द्रविक्रम पुरुष, तेजनारायण कँडेल, पशुपति खड्का, मुनेन्द्र राजभण्डारी, शतिश न्यौपाने, अनुप शाही, आवास खड्का, कौशल आचार्य, सौरभ भण्डारी, विक्रम पाण्डे, दुर्गाहरी दाहाल, गौरिनारायण बाँस्कोटा, श्रीराम कंडेल, कालुबहादुर विक, भरतराज पाण्डे लगायतका व्यक्तिहरू रहेका छन् । गिरफ्तारीमा परेकाहरूलाई प्रहरीले जिल्ला प्रहरी परिसर, काठमाडौँको नवनिर्मित भवन भद्रकालीमा राखेको छ ।
गिरफ्तारीमा परेकाहरूलाई आवश्यक सोधपुछ पश्चात छाडिने जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले इन्सेकलाई जानकारी दिनुभयो ।
त्यसैगरी दुर्गा प्रसाईंले प्रदर्शन गर्ने भनिएको स्थल तिनकुने र भक्तपुरस्थित प्रसाईंको निवासस्थलमा इन्सेकको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रसाईंको आन्दोलनलाई नियन्त्रण गर्ने बहानामा प्रहरीले खाजा घरमा चिया खाँदै गरेकादेखि आफ्नो डेरातर्फ जान खोजिरहेका व्यक्तिहरू केरकार गर्दै आतङ्कित बनाएको पाइयो । प्रहरीले दौरा, सुरुवाल र ढाकाटोपी लगाएका व्यक्ति देख्ने बित्तिकै आन्दोलनमा आएका व्यक्ति भन्दै गिरफ्तार गरेको समेत अनुगमनमा देखियो । त्यस्तै दङ्गा प्रहरीले बाटोमा उभिएका खाजा खान नास्ता पसलमा चिरेका र बाटोमा उभिएका व्यक्ति देख्ने बित्तिकै सामाजिक सञ्जाल फेसवुक खोल्न लगाएर सरकारको विरोधमा स्टाटस लेखेकै भरमा सर्वसाधारणलाई धरपकड गरेको समेत अनुगमन टोलीले पायो ।
प्रहरीले आन्दोलनमा सरिक हुन आएको भन्दै सर्लाही घर भई हाल तिनकुनेमा बसेर इलेक्ट्रिसियनको रूपमा काम गर्दै आएका ३० वर्षीय कुमार परियारलाई समेत डेरा कोठाबाट गिरफ्तार गरेको थियो । अनावश्यक रूपमा डेरा कोठामै गएर गिरफ्तार गरेको भन्दै स्थानीय बासिन्दाले कुमारलाई छाड्न दबाब दिएपछि प्रहरीले उहाँलाई छाडेको थियो । घटनापछि इन्सेक प्रतिनिधिसँग कुरा गर्दै कुमारले नास्ता खाएर डेरा कोठा जान लागेको, आफूलाई प्रहरीको टोलीले कहाँ जान लागिस् भनेर हप्कीदप्की गरेको र प्रहरीको भिड देखेर आफू डराएर बोल्न नसकेपछि आफूलाई प्रहरीले गिरफ्तार गरेको बताउनु भयो ।
त्यसैगरी इन्सेकको टोलीले भक्तपुरस्थित प्रसाईंको निवासस्थलमा अनुगमन गर्दा प्रसाईंको सुरक्षाको कारण देखाउँदै नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन भएको पाइयो । निवासको मुख्य बाटोमै प्रहरीको व्यापक परिचालनपछि प्रसाईं दिभर घरबाट बाहिर निस्किन सकेनन् । इन्सेकको अनुगमन टोलीसँग कुराकानी गर्दै जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डिएसपी बसन्त पाठकले प्रसाईंको सुरक्षाका निम्ति भक्तपुरको पेप्सीकोला, लोकन्थली, सानोठिमी, सल्लाघारी सडकखण्डमा तीन सय जनाको सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको बताउनु भयो ।










