रघुगंगा गाउँपालिकाका सबै जनतालाई पायक पर्ने ठाउँमा अस्पताल बनाउनु पर्ने माग सहित अनसन बस्नु भएका रमेश गुरुङको स्वास्थ्य स्थिति कमजोर बन्दै गएको छ ।
२०८० मङ्सिर ४ गते देखि अनसन थाल्नु भएका उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको रघुगंगा गाउँपालिका–३ का वडा अध्यक्ष खिमबहादुर शाहीले जानकारी दिनुभयो । उहाँलाई अहिले राम्रो संग उठ्न समस्या भएको छ भने पिसाब पनि भएको छैन, अरु स्वास्थ्य जटिलता आउन सक्ने सम्भावना देखिएको अनसन स्थलनमा अनुगमनका लागि पुग्नुभएका इन्सेकप्रतिनिधिसंग शाहीले भन्नुभयो ।
रघुगंगा गाउँपालिका– ३ का रमेश गुरुङले गाउँपालिकाको आधारभूत अस्पताल राज्यको मापदण्ड अनुरुप तथा सुगमता र सबैलाई पायक पर्ने हिसाबले गाउँपालिकाको केन्द्र रहेको वडाको स्वास्थ्य चौकीमै बनाइनु पर्ने माग राख्नु भएको छ । त्यस्तै गाउँपालिका भित्र निर्माणाधिन विद्युत उत्पादन आयोजनाहरु सँग समन्वय गरी सम्बन्धित कम्पनिलाई आवश्यक जनशक्ति गाउँपालिकाका बेरोजगार युवालाई तालिम प्रदान गरी रोजगारीको व्यवस्था गरिदिनु पर्ने माग राख्दै अनसन थाल्नु भएको हो ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले अनसनका सन्दर्भमा आफूले उपाध्यक्षलाई पठाएको भए पनि अनसन नतोडिएकोले आफै पुगेर गुनासो सुन्ने र सम्बोधन गर्ने प्रयास गरेर अनसन तोड्न आग्रह गर्ने भण्डारीले बताउनुभयो ।
अनसनरत रमेशले भने आफूले कुनै पनि ठोस विश्वास गर्न लायकको आश्वासन नपाएको हुँदा अनसन नतोडेको बताउनुहुन्छ । अस्पतालको विषयमा माग गरिएको हो त्यसैको विषयमै कुनै उचित सम्बोधन नभए सम्म अनसनका विषयमा अन्य केही नसोच्ने अनसनरत गुरुङको भनाई छ ।

