रघुगंगा गाउँपालिकाका– ३ का रमेश गुरुङले आधारभूत अस्पताल सुगम तथा सबैलाई पायक पर्ने ठाउँमा बनाउन माग गर्दै गाउँपालिकाको कार्यालय परिषरमा मङ्सिर ४ गते देखि आमरण अनसन थाल्नु भएको छ ।
गुरुङले गाउँपालिकाको आधारभूत अस्पताल राज्यको मापदण्ड अनुरुप तथा सुगमता र सबैलाई पायक पर्ने हिसाबले गाउँपालिकाको केन्द्र रहेको वडाको स्वास्थ्य चौकीमै बनाइनु पर्ने तथा गाउँपालिका भित्र निर्माणाधिन विद्युत उत्पादन आयोजनाहरु सँग समन्वय गरी सम्बन्धित कम्पनिलाई आवश्यक जनशक्ति गाउँपालिकाका बेरोजगार युवालाई तालिम प्रदान गरी रोजगारीको व्यवस्था गरिदिनु पर्ने माग राख्दै गाउँपालिकाको कार्यालय परिषरमा आमरण अनसन थाल्नु भएको हो ।
गाउँपालिकालाई सम्बोधन गर्दै माग पुरा गरिपाउँ भन्ने पत्र सहित अनसन बसेको भए पनि गाउँपालिकाको अध्यक्षबाट कुनै पनि सुनुवाई तर्फ ध्यान नदिएको उहाँको भनाई छ ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले अस्पतालको सन्दर्भमा २०७७ पुस १५ गते गाउँसभाको निर्णय वमोजिम वडा नं. १ बेगमा अस्पताल बनाउने निर्णय भएको बताउनुभयो । गाउँसभाको बहुमतको निर्णय बमोजिम सरकारले तोकेको अस्पताल बेगमा बनाउने निर्णय अनुसार कार्य अगाडि बढेको उहाँको भनाई छ । सभाको निर्णय पछि बेगमा अस्पताल निर्माणका लागि २०७८ माघ ६ गते आवश्यक जग्गा पनि निःशुल्क रुपमा अस्पतालको नाममा आई सकेको उहाँले बताउनुभयो ।
अनसनका सन्दर्भमा आफूले उपाध्यक्षलाई पठाएको भए पनि अनसन नतोडिएकोले बिहीबार आफै पुगेर गुनासो सुन्ने र सम्बोधन गर्ने प्रयास गरेर अनसन तोड्न आग्रह गर्ने भण्डारीले बताउनुभयो ।

