
घरेलु हिंसाबाट पीडित धनगढीमाई नगरपालिका—९ की ३० वर्षीया सरस्वती कुमारी शर्मालाई इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरले ०८० मङ्सिर ५ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
घरेलु हिंसाबाट घाइते भई उपचार तथा न्यायीक प्रक्रियाको लागि इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले पीडितलाई घरमै पुगि ८ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।
पीडित शर्मालाई उनका ३५ वर्षीय पति जितेन्द्र कुमार ठाकुरले भदौ २७ गते घरायसी विवादमा कुटपिट गरी ज्यानमार्ने प्रयास गरेको पीडितले बताइन् । कुटपिट पछि घाइते भएकी शर्माको उपचार लहान स्थित सप्तऋषी अस्पतालमा सोही दिन भएको थियो । कुटपिट पछि फरार रहेका पतिले उपचार पनि नगराएको र खान लाउन पनि नदिएको साथै आफ्नो आर्थिक अवस्था कमजोर भएकोले घर परिवार चलाउन र न्यायीक प्रक्रियामा जान समस्या भएको पीडित शर्माले बताइन् । घटना पछि आरोपितलाई कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा भदौ २८ गते उजुरी दिएको शर्माले बताइन् ।
इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर अविनाश अधिकारीका अनुसार आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।
इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले पीडितको आर्थिक अवस्था कमजोर रहेकोले उपचार तथा न्यायीक प्रक्रियामा जानको लागि आर्थिक सहयोग प्रदान गरेको बताउनु भयो ।