एच.आइ.भि.सङ्क्रमितहरुले नियमित सेवन गर्ने एआरटी औषधि पायक पर्ने स्थानबाट वितरण हुन नसक्दा सङ्क्रमितलाई सास्ती भएको छ ।
पायक पर्ने स्थानबाट एआरटी औषधि उपलब्ध नहुँदा कतिपय सङ्क्रमितहरू औषधि सेवन गर्नबाट नै वञ्चित हुनुपरेको छ । मध्यविन्दु जिल्ला अस्पतालमा नै एआरटी औषधि उपलब्ध भएमा पायक पनि पर्ने र अन्य उपचार सेवा लिन पनि सहज हुने सङ्क्रमितहरू बताउँछन् ।
एक जना सङ्क्रमित पुरुषले जिल्ला अस्पतालबाट नै एआरटी औषधि उपलब्ध हुन सकेमा सबैलाई पायक पनि पर्ने बताउनुभयो । ‘म त कावासोतीमा बस्छु । मलाई पनि चोरमारा औषधि लिन जान अपायक हुन्छ, अहिले बाटोघाटो कारण धुलोधुवाँले निकै समस्या पारेको छ । हामी सङ्क्रमितले धुलोधुवाँबाट बच्नुपर्छ नत्र झनै स्वास्थ्यमा असर गर्छ । दिनहुँ सेवन गर्नुपर्ने औषधि भएको कारण नियमित रुपमा ल्याउनुपर्छ अरुलाई लिन जान भन्न पनि नमिल्ने धेरै गाह्रो भएको छ । ’ उहाँले भन्नुभयो ।
यस्तै अर्की सङ्क्रमितले पनि जिल्ला अस्पतालबाट नै एआरटी औषधि उपलब्ध भएमा सङ्क्रमितका लागि अन्य कुरामा पनि सहज हुने बताउनुभयो । ‘अहिले सङ्क्रमितहरू धेरैले बीमा गर्नुभएको छ । जिल्ला अस्पतालमा बेलाबेलामा उपचारका लागि आउनुपर्छ ल्याब टेस्ट गर्नुपर्छ । जिल्ला अस्पतालबाटै औषधि पनि उपलब्ध भए सबै कुरा एकैठाउँबाट पाउथ्याैँ । छुट्टै भाडा खर्च गरेर औषधि लिनका लागि मात्रै चोरमारा जानुपर्दैनथ्यो । दैनिक रुपमा मजदुरी गरेर खाने हामीलाई एक दिन नै खर्च गरेर औषधि लिन जानुपर्दा धेरै गाह्रो भएको छ । ’ उहाँले भन्नुभयो ।
जिल्लामा एच.आइ.भि.सङ्क्रमितको क्षेत्रमा काम गर्दै आएको संस्था लुम्बिनी प्लसकी अध्यक्ष निर्मला पौडेलका अनुसार नवलपुरमा ४ सय ५० जना सङ्क्रमितहरू एआरटी औषधि सेवन गर्छन् । तर पायक पर्ने स्थानबाट औषधि उपलब्ध नहुँदा कतिपयले नियमित रुपमा औषधि सेवन गर्ने गरेका छैनन् ।
पश्चिममा बिनयी त्रिवेणी गाउँपालिका र पूर्वमा गैडाकोट, देवचुली, कावासोती नगरपालिकामा रहेका सङ्क्रमितलाई चोरमारा स्वास्थ्यचौकी पुग्न पायक नपर्ने हुँदा कतिपय सङ्क्रमितले औषधि सेवन गर्नै छाडेको पौडेलले बताउनुहुन्छ । बुलिङ्टार, बौदीकाली गाउँपालिकाका सङ्क्रमितलाई चोरमारा पुग्न अझै गाह्रो हुने गरेको पौडेलको भनाई छ । धेरैजसो सङ्क्रमितहरू विपन्न परिवारको भएका कारण भाडा खर्च गरेर औषधि लिन जान समेत नसक्ने बताउने गरेको उहाँले बताउनुभयो । कतिपय सङ्क्रमितले भने भरतपुर र पश्चिम नवलपरासी पुगेर औषधि ल्याउने गरेको उहाँले बताउनुभयो ।
जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जिल्ला अस्पतालको भवन अभाव हुँदा एआरटी वितरण गर्न गाह्रो भएको बताउनुभयो । यस विषयमा धेरै पटक कुरा उठेको र छलफल समेत गरिएको भए पनि अस्पतालमा पर्याप्त कोठाहरू नहुँदा समस्या भएको उहाँको भनाई छ । अस्पतालको नयाँ भवन निर्माणको चरणमा रहेकाले भवन सम्पन्न भएपछि भने सेवा दिन सकिने उहाँले बताउनुभयो ।
लुम्बिनी प्लसकी अध्यक्ष निर्मला पौडेलले भने सानो एउटा कोठाबाट पनि सेवा दिन सकिने भएकाले जिल्ला अस्पतालले व्यवस्थापन गरिदिएमा सहज हुने बताउनुभएको छ । अस्पतालको भवन बन्न कति वर्ष लाग्ने हो, त्यतिबेलासम्म सङ्क्रमितले सास्ती भोग्नुपर्ने भएकाले अस्थाई रूपमै भएपनि तत्काल व्यवस्थापन गर्नका लागि अनुरोध गर्नुभएको छ ।