सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावितहरुलाई १ करोड रुपियाँ राहत स्वरुप सहयोग गर्ने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्री परिषदको कात्तिक १९ गते बसेको बैठकले जाजरकोट जिल्लामा आएको भूकम्पमा परी घाइतेहरुको उपचार र प्रभावितहरुको सहयोगका लागि १ करोड रुपियाँ राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले घाइतेहरुको उपचारका लागि स्वास्थ्य समाग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय समेत गरिएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री मकमलबहादुर शाहले बताउनु भयो ।
भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, भूकम्पमा पुरिएका व्यक्तिहरुको खोजी कार्य तथा उद्धार र घाइतेहरुको उपचारका लागि जनशक्ती सहितको सहयोग गर्ने मुख्यमन्त्री शाहले जानकारी गराउनु भयो ।
मुख्यमन्त्री शाहले भुकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा सुदूरश्चिम प्रदेशको तर्फबाट सबै सरकारी, गैरसरकारी संघसंस्था, नागरिक समाज र नीजि क्षेत्रबाट सक्दो सहयोग गर्न पनि आग्रह गर्नु भयो ।
०८० कात्तिक १७ गते जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको विनासकारी भूकम्पमा परी जाजरकोट जिल्लामा १ सय ५ र रुकुम पश्चिममा ५२ जना गरी १ सय ५७ जनाको मृत्यु र ३ सय ७५ जना घाइते भएका थिए ।