झण्डै दुई महिनापछि सर्वोच्च अदालतले भरतपुर महानगर-१९ मा पुनः मतदान गर्न आदेश दिएको छ । साउन १५ गते न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मतपत्र च्यातिएको वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने गरी मुद्दाको फैसला गरेको हो ।
भरतपुरमा मतगणना हुँदाहुँदै जेठ १४ गते राति माओवादी प्रतिनिधिहरूले मतपत्र च्यातेको आरोप लागेको थियो । निर्वाचन आयोगले उक्त वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । आयोगको त्यही निर्णय विरुद्ध पुनः मतदान होइन पुन मतगणनाको माग गर्दै भरतपुर-१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
मतगणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातिएको थियो । कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिसकेको थियो । माओवादीहरुले १९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातेका हुन् ।
त्यो वडापछि २० नम्बरको मात्र मतगणना बाँकी छ । यी दुई वडाको मत गन्न थाल्नुअघि नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली ७८४ मतको अन्तरले माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा अघि थिए ।