INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन घटनाका आरोपित शिक्षकलाई कैद

अग्निसाइर कृष्णसवरन गाउँपालिका–५ छपकीकी १८ वर्षीया प्रियंका कुमारी मेहतालाई दुरुत्साहन गरी आत्महत्या गर्न वाध्य पारेको भन्दै सोही गाउँपालिका–४ टेङ्गग्रीका ३२ वर्षीय राधेश्याम मण्डललाई कात्तिक १६ गते २२ दिन कैद र ५ हजार रूपियाँ जरिवाना भएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले आरोपितमाथिको अभियोग दावी पुग्ने फैसला गर्दै फौजदारी कसुर पीडित राहत कोषमा २ सय रूपियाँ जम्मा गर्न समेत फैसला गरेको अदालतले जानकारी दिएको छ ।

आरोपित मण्डलसँग पीडित ट्यूशन कक्षा पढ्ने गर्दथिन् । खाटमा बसेर मोबाइलमा आरोपित मण्डलसँग कुराकानी गर्दा गर्दै पीडितले ०८० जेठ २४ गते राति विषसेवन गरी अचेत भएकी थिइन् । उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा जेठ २४ गते राति ११ गते पीडितको मृत्यु भएको थियो । शवको पोष्टमार्टम सोही अस्पतालमा जेठ २५ गते भएको थियो ।

पीडितकी आमा सोनमैता कुमारी चौधरीले मण्डलको आत्महत्या दुरुत्साहनका कारण विष सेवन गरी आत्महत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिनुभएको थियो । आरोपित साउन ३ गते गिरफ्तार भएका थिए ।

जिल्ला अदालतमा साउन २४ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलाशले आरोपित साउन २५ गते पुर्पक्षका लागि ५० हजार रूपियाँ धरौटी राखी तारेखमा रिहा भएका थिए ।

अन्य

भिडियो