INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपितहरूलाई जन्मकैद

खडक नगरपालिका–९ लालपट्टीका ६८ वर्षीय दाउद मियाँलाई हत्या गरेको आरोपमा सोही ठाउँका ३२ वर्षीय नजबुल मियाँ र ५१ वर्षीय मो. वालिस भनिने कालिस मियाँलाई कात्तिक १६ गते जन्मकैद सजायको फैसला भएको छ ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले आरोपितद्वयलाई जन्मकैदका साथै आरोपितहरूबाट मृतकका परिवारलाई जनही २ लाख रूपियाँ क्षतिपूर्ति भराउने र २ हजार ८ सय रूपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउने फैसला भएको छ ।

यसैगरी अन्य आरोपितहरू सोही ठाउँका कालिसका दाजु ५५ वर्षीय रफु भनिने रफुवा मियाँ, उनका भाई ४२ वर्षीय मो. इसराइल मियाँ, रफुका छोरा ३३ वर्षीय मो. अख्तर मियाँ र कालिसको छोरा २१ वर्षीय मो. जाकिर मियाँलाई जनही १ वर्ष कैद सजायको फैसला गरेको छ । उनीहरूबाट मृतकका परिवारलाई जनही ७५ हजार रूपियाँ क्षतिपूर्ति भराउने र फौजदारी कसुर पीडित राहत कोषमा २ सय रूपियाँ जम्मा गर्न लगाउने फैसला भएको छ ।

आरोपितहरूले ०७८ असार २४ गते राति बाँसको लठ्ठीले प्रहार गर्दा पीडितको मृत्यु भएको भन्दै मृतकका छोरा ३० वर्षीय तबारक मियाँले इलाका प्रहरी कार्यालय कल्याणपुरमा असार २५ गते उजुरी दिनुभएको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुरले असार २५ गते उजुरी दर्ता गर्‍यो ।

सोही ठाउँका इजहारूल र आविदलाई ६ महिना अघि मृतकका नाती (छोरीका छोरा) राजविराज नगरपालिका–९ मलेठ जगदरीका सनाबुल मियाँले भिजिट भिसामा दुबइ पठाएका थिए । भनेको ठाउँमा उपयुक्त काम नपाएपछि घरपरिवारले ऋणकर्जा गरेर अन्य ठाउँमा काम खोज्नु परेकाले आरोपितहरूले सनाबुलसँग पटक–पटक पैसा फिर्ता माग्दै आएका थिए । सनाबुल असार २४ गते राति लालपट्टीस्थित मामाघर आएको थाहा पाएका आरोपितहरूले दाउदको घर गई पैसा माग्न थालेपछि विवाद चर्कदै झगडा भएको तत्कालिन वडा अध्यक्ष इजहारूल मियाँले जानकारी दिए । सोही झगडाका क्रममा बाँसको लठ्ठी प्रहारबाट घाइते दाउदको मृत्यु भएको थियो । शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार २५ गते पोस्टमार्टम भएको थियो ।

आरोपितमध्ये अख्तर ०७८ साउन १० गते गिरफ्तार भए भने अन्य आरोपितहरू साउन ३ गते नै गिरफ्तार भएका थिए । जिल्ला अदालतमा ०७८ साउन २८ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलाशले साउन ३२ गतेदेखि नजबुल र कालिस पुर्पक्षका लागि कारागारमा थुनामा छन् । अन्य आरोपितहरू जनही पाँच लाख रूपियाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

अन्य

भिडियो