INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय र प्रहरीबीच झडप, दुई जना प्रहरी सहित पाँच जना घाइते

मलंगवा नगरपालिका–१० स्थित सहिद चाेकमा ०८० कात्तिक ८ गते स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा दुई जना प्रहरी सहित पाँच जना घाइते भएका छन् ।

दुर्गा पूजा पश्चात मूर्ति परिक्रमा तथा विसर्जन गर्न प्रयाेग गरिने बाटाेकाे विषयमा स्थानीय र प्रसाशनबीच विवाद सृजना हुँदा प्रहरी र स्थानीयबीच झडप भएको पुजा समितिका सदस्य मलंगवा नगरपालिका–१० का ३४ वर्षीय दिनेश कुमार यादवले जानकारी दिनु भयो । झडपमा दुई जना प्रहरी सहित पाँच जना घाइते भएकाे उहाँले बताउनु भयाे ।

घाइते हुनेहरुमा मलंगवा नगरपालिका–३ का ३१ वर्षीय महेश कुमार महतो, ३३ वर्षीय रामकेवल यादव र वडा न‌ं १० का २९ वर्षीया महिला बनारसी देवी यादव रहेका छन् । घाइते रामकेवल यादव र बनारसी देवी यादवकाे उपचार सर्लाही जिल्ला अस्पतालमा भइरहेको छ भने महेश कुमार महतोलाई थप उपचारकाे लागि विरगंज लगिएकाे छ ।

त्यस्तै, प्रहरी तर्फ घाइते हुनेहरुमा ३४ वर्षाीय सहायक हबलदार ओम प्रकाश यादव र ३२ वर्षीय प्रहरी जवान रामबाबु महतो रहेका छन् । घाइते प्रहरी जवान रामबाबु महतोकाे उपचार प्रादेशिक अस्पताल मलंगवामा गरिएको छ भने सहायक हबलदार यादवलाई थप उपचारकाे लागि काठमाण्डौ‌ं लगिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो । स्थिति नियन्त्रणमा लिन प्रहरिले २८ शेल आश्रु ग्याँस र एक राउन्ड हवाइ फायर गरेकाे उहाँले जानकारी दिनु भयो ।

विगतमा मूर्ति विर्सजनको क्रममा भएको विवादलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मलंगवाले मूर्ति विर्सजन गर्नको लागि रुट निर्धारण गरेको जिल्ला प्रशासन कार्यालयका सिडिओ कोमल प्रसाद धमालले जानकारी दिनु भयो । तर, दुर्गा पुजा पश्चात मूर्तिलाई परिक्रमा र विसर्जन गर्न निर्धारित रुटकाे प्रयाग नगरी अन्य रुटकाे प्रयाेग गर्न खाेज्दा स्थानीय र प्रहरीबीच विवाद सृजना भइ झडप हुन पुगेकाे उहाँले बताउनु भयाे।

जिल्लामा जम्मा ६७ स्थानमा दुर्गा पूजा गरिएको छ । अन्य ठाउँमा शान्तिपूर्वक रुपमा मूर्ति विर्सजन गरिएको सिडिओ धमालले जानकारी दिनु भयो ।

अन्य

भिडियो