धादिङको ज्वालामुखी गाउँपालिका-५ को खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ०८० कात्तिक ५ गते बिहान ७ बजेर ३९ मिनेटमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प जाँदा २० घर भत्किएको छ भने ७५ घर चर्किएर विभिन्न क्षेत्रलाई प्रभावित बनाएको छ ।

पटक पटक भुकम्पको धक्का महसुस हुनुका साथै ४ रेक्टर स्केलभन्दा ठूला चार पटक भुकम्प धक्का महसुस भएको हो । पटक पटक ससाना भुकम्प आवाज सहित महसुस भइरहेको थियो ।
ज्वालामुखी गाउँपालिका-५ को खरी स्थित कुमालटारी क्षेत्रका अधिकांश कच्ची र सिमेन्ट लगाइएका घरहरूमा क्षति पुगेर तथ्याङ्क सङ्कलन गरिरहेको पूर्व वडा अध्यक्ष कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी सन्तुलाल प्रसाद जैसवारले तथ्याङ्क सङ्कलन भइरहेको, मानवीय क्षति नभएको र घटना स्थलमा प्रहरी टोली परिचालन गरिएको बताउनु भयो ।
थप क्षति भएको वा नभएको बारेमा बुझ्दै गरिएको उहाँको भनाई छ । भूकम्पपछि वडा नम्बर ५ को एक ठाउँमा ठूलो पहिरोसमेत गएको छ । हालसम्म कुनै मानवीय र चौपाया क्षति नभएको जानकारी प्राप्त भएको उहाँले इन्सेकलाई जानकारी दिनुभयो ।
भूकम्प गएपछि बिहान त्यस क्षेत्रमा केहीबेर विद्युत् आपूर्ति बन्द भएको थियो । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिरै सुरक्षित बस्न सुचना गरेर भनिएको थियो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले आवश्यकता अनुसार राहतको तत्काल व्यवस्था गर्ने गरी टोली अवस्था बुझ्न घटनास्थलतर्फ पठाइएको बताउनु भयो । बिहान भूकम्प गएपछि धादिङका धेरै ठाउँका बासिन्दा घर बाहिर निस्किएका थिए । धादिङका गाउँ गाउँमा मानिसहरू भुकम्प धक्का महसुस भइरहेकोले अधिकांश मानिस घरभित्र जान सकेका छैनन् ।
