
सार्वजनिक, ऐलानी पोखरीमा नगरपालिकाले लगाएको ठेक्काको विरोधमा डाक्नेश्वरी नगरपालिका–६ औरही गाउँबाट आएका प्रदर्शनकारीहरूले ०८० कात्तिक १ गते राति नगरपालिका कार्यालयमा ढुंगामुढा गरेर क्षति पुर्याएका छन् ।
डाक्नेश्वरी नगरपालिका–६ औरहीका ४० वर्षीय रमेश यादवको नेतृत्वमा ढुंगा, लठ्ठीसहित आएको भिडले ढुंगामुढा गर्दा कार्यालयको झ्यालका केही सिसाहरू फुटेको नगरपालिकाका कर्मचारी राजदेब मण्डलले जानकारी दिनु भयो ।
नगरपालिकाले पोखरीको नयाँ ठेक्का लगाएकोमा आपत्ती जनाउँदै प्रदर्शनकारीहरूले कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै ढुंगा प्रहार गरेका थिए । प्रदर्शनका कारण दिउँसो २ बजेदेखि राति १० बजेसम्म नगर प्रमुख मलाहा र कर्मचारीहरू नगरपालिका बाहिर निस्कन पाएनन् । प्रदर्शनकारीहरूले हातपात गरेपछि सुरक्षाका लागि कार्यालयभित्र राखिएका रेडियो नेपालका सप्तरी संवाददाता सञ्जिबिक्रम शाह पनि राति १० बजेसम्म घेराबन्दीमा परे । कार्यालयभित्र असन्तुष्ट पक्षसँग राति १० बजेसम्म वार्ता भएपछि तत्कालका लागि प्रदर्शन स्थगित भएको थियो । अवस्था तनावपूर्ण बनेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।
प्रदर्शनकारी अशोक कुमार यादवले आफ्नो नियन्त्रणमा राखेर नगरपालिकाले ठेक्का लगाउन खोजेकोले विवाद चर्किएको बताउनु भयो । अर्का प्रदर्शनकारी राजकुमार यादवले दुई वर्ष अगाडि नै सात वर्षका लागि लागेको ठेक्का तोडेर नगरपालिकाले नयाँ ठेक्का लगाउन खोजेको बताउनु भयो । गाउँको समिति र गाउँलेको कुरा नसुनेर आफ्नै मनले टेण्डर लगाएकोले विरोध भएको उहाँको भनाई थियो । पहिले भएको ठेक्काका कारण विवादित रहेको पोखरीमा जनताको सहमति र निर्णय विना ठेक्का लगाएकोले विवाद भएको जनमत पार्टीका स्थानीय नेता अमरेन्द्र यादवले बताउनु भयो ।
नियमित रुपमा लगाउनु पर्ने औरहीको ९ ओटा पोखरी नै नगरपालिकाले ठेक्का लगाउन खोजेको नगर प्रमुख रामलखन मलाहाले बताउनु भयो । आन्दोलनको पनि नियम हुने भन्दै नगर प्रमुख मलाहाले जानकारी र अल्टिमेटम बिना नै एक्कासी लठ्ठी, ढुंगासहित हुल बाँधेर राति अबेलासम्म प्रदर्शन गर्नु र कार्यालयमा ढुंगामुढा गरेर क्षति पुरयाउनु निन्दनिय भएको बताउनु भयो । युद्धमा समेत नरोकिने आकस्मिक सेवाको एम्बुलेन्स जान नदिएर प्रदर्शनकारीले जघन्य अपराध गरेको पनि उहाँले बताउनु भयो ।
आत्महत्या प्रयास गरेका औरहीका १५ वर्षीय गौतम साहलाई उपचारको लागि आस्पताल पुर्याउन भनी नगरपालिका कार्यालयबाट निक्लिएर सडकमा आउनासाथ प्रदर्शनकारीहरूले हातपात गरेको स.१झ ५३३ नम्बरको एम्बुलेन्सका चालक रामजतन मुखियाले बताउनु भयो । गाडीमा समेत लठ्ठीले प्रहार गरेका प्रदर्शनकारीहरूसँग अनुरोध गर्दा पनि जान नदिएको चालक मुखियाले बताउनु भयो । उता औषधी उपचार नापाउँदा आत्महत्या प्रयास गरेका साहको मृत्यु भएको उहाँले बताउनु भयो ।